१५ चैत्र २०८०, बिहीबार

औपचारिकताका लागि मात्र प्रतिस्पर्धा ! शीर्ष नेताका प्रतिस्पर्धी कमजोर: देउवा, ओली, प्रचण्ड र नेपाल सुरक्षित

deuba oli prachand madhav 1

नेपाली कांग्रेस नेतृत्वको सत्ता र एमाले नेतृत्वको प्रतिपक्षी गठबन्धनबीच कडा चुनावी टक्करको आँकलन छ । दुबैतर्फका उम्मेदवार हेर्दा अधिकांश क्षेत्रमा ‘गर या मर’को तहमा प्रतिस्पर्धा हुने ठानिएको छ ।

तर, अघोषित सहमति हो या संयोग– मुख्य चार दलका शीर्ष नेताले भने निकै कमजोर प्रतिस्पर्धी पाएका छन् । र, तिनका लागि चुनावी प्रतिस्पर्धा औपचारिकताका लागि मात्र हुने संभावना छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्षले प्रतिस्पर्धी मात्रै कमजोर पाएका छैन, क्षेत्रमा स्थानीय तहको मत पनि सकारात्मक नजिताका लागि प्रोत्साहित गर्ने खालको छ ।

शेरबहादुर देउवा
२०४८ देखि निरन्तर डडेलधुराबाट चुनाव जित्दै आएका देउवा यसपटक अझ बढी सुरक्षित छन् । देउवाविरुद्ध कांग्रेस (विपी)का कर्णबहादुर मल्ल र एमालेका चक्रप्रसाद स्नेहीले उम्मेदवारी दिएका छन् । कांग्रेस (विपी)का बरिष्ठ उपाध्यक्ष मल्ल देउवाकै छत्रछायाँमा हुर्किएको नेता हुन् ।

एमालेका स्नेही राष्ट्रियसभाका पूर्वसदस्य हुन् । एमालेले उम्मेदवारी फिर्ता लिइर मल्ललाई सघाउने संभावना बाँकी नै छ । तर, पनि मल्लले देउवालाई पराजित गर्ने आधार छैन ।

देउवाले वामगठबन्धन रहेको अघिल्लो निर्वाचनमा २८ हजार ४४ मतका साथ निकटतम प्रतिद्वन्द्वीलाई ७ हजार मतले पराजित गरेका थिए ।

डडेलधुरामा गत स्थानीय तहको चुनावमा सत्तारुढ गठबन्धनका मुख्य तीन दल कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका वडा अध्यक्षले करिब २८ हजार ल्याएका थिए । जवकि, एमाले र कांग्रेस विपी) मिल्दा करिब १३ हजार ५ सय मत हुन्छ । पूरानै मतका आधारमा पनि देउवा करिब १५ हजार मतले अगाडि हुन सक्छन् ।

केपी शर्मा ओली
२०४८ सालयता हरेक चुनावमा प्रतिस्पर्धा गरिरहेका ओलीले २०६४ सालमा बाहेक हार व्यहोर्नु परेको छैन । झापा–५ बाट उम्मेदवारी दिएका ओलीले कांग्रेसका पुरानै प्रतिस्पर्धी खगेन्द्र अधिकारी पाएका छन् । ओलीविरुद्ध राम्रो मत भएको राप्रपाले उम्मेदवारी दिएको छैन ।

वाम गठबन्धन रहेको २०७४ सालको निर्वाचनमा ओलीले अधिकारीलाई २८ हजार ८ सय २४ मतको अन्तरमा हराएका थिए । अघिल्लो निर्वाचनमा अधिक मतान्तरमा चुनाव जित्ने दोस्रो नेता थिए ओली ।

झापा–५ सत्तारुढ गठबन्धनका मुख्य तीन दल कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले स्थानीय तहमा ३९ हजार ४ सय मत जोडेका थिए । जवकि, त्यहाँ एमाले एक्लैको ४५ हजार ५ सय मत थियो । राप्रपाले ८ हजार ७ सय मत ल्याएको थियो । झापा–५ मा सत्तारुढ गठबन्धनको भन्दा एमाले र राप्रपाको मत करिब १५ हजारले बढि छ ।

पुष्पकमल दाहाल
निर्वाचन क्षेत्र फेर्न माहिर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले यसपटक गोरखा–२ रोजेका छन् । माओवादी एक्लै काफी हुने क्षेत्रमा गठबन्धनको साथ पाएका दाहालको प्रतिस्पर्धी दल र उम्मेदवार दुबै कमजोर छन् । एमालेले नवप्रवेशी अब्दुस मियालाई दाहालको प्रतिस्पर्धी बनाएको छ ।

दाहालले अघिल्लोपटक वाम गठबन्धन हुँदा चितवन–३ बाट ४८ हजार २ सय ७६ मत ल्याएर निकटतम प्रतिद्वन्द्वीलाई ९ हजार ३ सय ४१ मतान्तरले हराएका थिए ।

गत स्थानीय तहको वडागत विश्लेषण गर्दा गोरखा–२ मा माओवादी एक्लैको २२ हजार २ सय छ । त्यसमा कांग्रेसको २१ हजार १ सय थपिँदा ४३ हजार ३ सय मत हुन्छ । जवकि त्यहाँ एमालेको ७ हजार ९ सय मत मात्रै छ । स्थानीय तहकै गणित कायम रहे र कांग्रेसले तलमाथि नगरे दाहालले अत्यन्तै फराकिलो अन्तरले चुनाव जित्ने छन् ।

माधवकुमार नेपाल
नयाँ पार्टी भएपनि सत्ता गठबन्धनको दरिलो साथका कारण एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालका लागि पनि चुनावी प्रतिस्पर्धा कठिन मानिएको छैन ।

गत चुनावमा आफू उठेको काठमाडौं–२ बाट सरेर नेपाल यसपटक रौतहट–१ पुगेका छन् । उनीविरुद्ध एमालेले अजयकुमार गुप्तालाई उतारेको छ । टिकट दिने सर्तमा एमालेले असारमा गुप्तालाई पार्टी प्रवेश गराएको थियो ।

२०७४ सालमा वामगठबन्धनका उम्मेदवार नेपालले काठमाडौं–२ मा २७ हजार ३६६ मत ल्याएर जितेका थिए । जीतको मतान्तर १२ हजार ४ सय ६३ थियो ।

वडाअध्यक्षले पाएको मतका आधारमा रौतहट–१ मा एकीकृत समाजवादीको १९ हजार ६ सय ९८, कांग्रेसको १६ हजार ९ सय २८ र माओवादी केन्द्रको ८ हजार १ सय ९१ मत गरी सत्तारुढ गठबन्धनको कूल मत ४४ हजार ८ सय १७ हुन्छ ।

रौतहट–१ मा विपक्षी गठबन्धन कायम रहे उसँग करिब २७ हजार ८ सय मत हुन्छ । दुबैतर्फ गठबन्धन इमान्दार रह्यो भने नेपाल फराकिलो मतान्तरले जित्ने छन् ।