१७ बैशाख २०८१, सोमबार

कैलाली-५ मा कांग्रेसका दुई नेताले दिए स्वतन्त्र उम्मेदवारी

nepali congress

नेपाली कांग्रेसका दुई नेताले कैलाली-५ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

कैलाली-५ का संविधानसभा सदस्यसमेत रहेको पुष्करनाथ ओझाले प्रतिनिधिसभा र कांग्रेस महाधिवेशन प्रतिनिधि क्षितिज भण्डारीले क्षेत्र नम्बर-५ (ख) का लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।

दुई नेताले कैलाली-५ को मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन् । पुष्करनाथ ओझालाई कांग्रेसले कारबाही गरेको छ ।

कैलाली-५मा गठबन्धनबाट नेपाली कांग्रेसका नेता डिल्लीराज ओझा र एमालेबाट नारदमुनि राना उम्मेदवार छन् ।

४ मंसिरमा हुने चुनावमा कैलाली-५ का मतदाताको स्वाभिमान र आत्मसम्मानको रक्षा गर्न चुनाव लड्ने पुष्करनाथ ओझाले जनाएका छन् । नेपाली कांग्रेसको राजनीतिमा २०३४ सालदेखि क्रियाशील रहेका ओझालाई कारबाही गरिएको थियो ।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट कैलाली-५ को प्रतिनिधि सभाका लागि ईश्वरी विष्टले पनि मनोनयन दर्ता गराएकी छन्।

चितवन ३ मा कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइरालाकाे स्वतन्त्र उम्मेदवारी दर्ता

चितवन ३ मा कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइरालाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । यो निर्वाचन क्षेत्रमा कांग्रेसले माओवादी केन्द्रलाई समर्थन गरेको छ ।

माओवादीबाट डा. भोजराज अधिकारीले उम्मेवारी दर्ता गराउँदै छन् ।  यो निर्वाचन क्षेत्रमा पहिले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उम्मेदवार बन्ने चर्चा थियो । उनी गोरखा २ मा गएपछि माओवादीले अधिकारीलाई उठाएको हो । तर, कांग्रेस चितवनले भने माओवादीलाई नछाड्ने भन्दै कोइरालाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।

कोइराला यसअघि पनि भरतपुर महानगरपालिकामा मेयरमा उठ्ने तयारीमा थिए । कांग्रेसले अन्तिममा उनको टिकट खोसेर प्रचण्डकी छोरी रेनु दाहाललाई समर्थन गरेको थियो । चितवन ३ मा कांग्रेसका बागी जगन्नाथ पौडेलले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

चितवन ३ बाटै एमालेले जिल्ला अध्यक्ष रामकुमार न्यौपानेलाई उम्मेदवार बनाएको छ । यसअघि सो निर्वाचन क्षेत्रमा एमालेले राप्रपाका विक्रम पाण्डेलाई सघाउने सहमति भएको थियो ।

कांग्रेसमा स्वतन्त्र उम्मेदवारी दिने बढ्दै

आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारी मनोनयन दर्ता आइतबार हुँदैछ । देशका एक सय ६५ प्रतिनिधिसभा र प्रदेश सभाको तीन सय ३० निर्वाचन क्षेत्रमा मनोनयन दर्ता जारी छ ।

मनोनयन दर्ताअनुसार अहिलेसम्म प्रत्येक पार्टीमा असन्तुष्टि उत्पन्न भई स्वतन्त्र र बागी उम्मेदवारी दिने लहर चलेको छ । जसमा सबैभन्दा बढी असन्तुष्टि नेपाली कांग्रेसमा देखिएको छ ।

पार्टीले टिकट नदिएको तथा सत्तारुढ गठबन्धनका अन्य दललाई भागबन्डा दिनुपर्दा निर्वाचन क्षेत्र गुमेपछि कांग्रेस नेताहरूले धमाधम स्वतन्त्र उम्मेदवारी दिइरहेका छन् ।

अहिलेसम्म तीन नेताले स्वतन्त्र उम्मेदवारी दर्ता गर्ने बताएका छन् । केन्द्रीय सदस्य दिनेश कोइरालाले चितवन ३ र अजय द्विवेदीले पर्सा १ मा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । सर्लाही ४ बाट कांग्रेसकै अमरेशकुमार सिंहले स्वतन्त्र उम्मेदवारी दर्ता गर्ने घोषणा गरेका छन् । सर्लाही ४ मा कांग्रेसले नागेन्द्र राय यादवलाई टिकट दिएको छ ।

उदयशमशेर राणाले गराए उम्मेदवारी दर्ता

कांग्रेसका उदयशमशेर राणाले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्यका लागि ललितपुर १ बाट उनले उम्मेदवारी दर्ता गरेका हुन् । 

यसअघि २०७४ सालमा एमालेका उम्मेदवार नवराज सिलवालसँग उनी सोही क्षेत्रमा पराजित भएका थिए । 

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका निर्वाचनका लागि आइतबार मनोनयन दर्ता प्रक्रिया भइरहेको छ । 

311179528 652565026489754 8360886168207951513 n