१५ बैशाख २०८१, शनिबार

पुरानै क्षेत्रमा प्रतिस्पर्धा गर्ने माओवादी केन्द्रका नेताले

prachanda and baburam
फाइल फोटो

मंसिर ४ को निर्वाचनका लागि दलहरुले उम्मेद्‍वारको नाम लगभग टुंगो लगाएका छन् । कतिपय नेताले पुरानै क्षेत्रमा प्रतिस्पर्धा गर्ने भएका छन् ।

तर शान्ति प्रक्रियाबाट संसदीय राजनीतिमा आएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भने एउटै निर्वाचन क्षेत्रमा अडिएका छैनन् । दाहालले पहिलो संविधान सभादेखि अहिलेसम्म पटक पटक निर्वाचन क्षेत्र परिवर्तन गरेका छन् ।

स्थानीय तहको निर्वाचनमा चितवनको भरतपुर महानगरपालिकामा रेनु दाहाललाई उम्मेदवार बनाउने निर्णयपछि कांग्रेसमा विद्रोह नै भयो ।

असन्तुष्टि रेनुको नाममा मात्रै थिएन, प्रतिनिधिसभा निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष दाहालको तयारीप्रति पनि थियो । दुई साताअघि पुर्ख्यौली जग्गामै घर बनाएर दाहालले चितवन ३ बाटै दोहोरिन चाहेको सन्देश पनि दिए ।

तर उनले चुनावका लागि चितवन छोडेर गोरखा २ रोजे । अघिल्लो पटक राप्रपाका विक्रम पाण्डेलाई ९ हजार मतको अन्तरले पराजित गरेका दाहाल किन गोरखा हानिए ?

२०६४ सालदेखिका कुनै पनि चुनाव नहारेका बाबुराम भट्टराई गोरखा २ अकस्मात दाहाललाई छोड्न तयार भए । २०७४ सालमा नयाँ शक्ति पार्टीबाट भट्टराईले ३१ हजार ८ सय ७ मतसहित माओवादीका नारायणकाजी श्रेष्ठलाई पराजित गरेका थिए ।

अघिल्लो पटक माओवादीकै उम्मेदवार पराजित भएको गोरखा २ मा दाहालले बाबुरामको साथ लिनुको अर्थ मानुषी भट्टराईलाई पनि राजनीतिमा स्थापित बाबुरामको दाउको रुपमा पनि कतिपयले चर्चा गर्न थालेका छन् । दाहाल जान लागेको गोरखा २ उनका लागि कति सुरक्षित छ त ?

सँगै सशस्त्र युद्धको नेतृत्व गरेका दाहाल र भट्टराईबीच त्यतिबेलै पटक पटक अविश्वास देखियो । संविधान जारी भएपछि त भट्टराईले पार्टी नै छोडे । त्यसयता कुनै पनि दलमा स्थिर हुन नसकेका भट्टराई र अविश्वास गरिरहेका दाहालबीच सात वर्षपछि पुनः सहकार्य भएको छ।