२१ बैशाख २०८१, शुक्रबार

कानूनी प्रक्रिया के हुन्छ सन्दीप लामिछाने अबको ? एक महिनामा के–के भयो ?

Sandeep 1

नेपाली किक्रेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने आफूविरुद्ध नाबालिगलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीमा जाहेरी परेको महिना दिनपछि आत्मसमर्पण गरेका छन् ।

कतार एयरवेजको विमानबाट विहिबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएलगत्तै सिधै प्रहरी हिरासत लिएको हो । एक महिनाको अन्तरालमा के भयो ? अब लामिछानेविरुद्धको मुद्दा कसरी अघि बढ्छ त ?

भदौ २१ गते नाबालिगले गौशाला प्रहरी वृत्तमा सन्दीप लामिछानेविरुद्ध बलात्कारको जाहेरी दिइन् । त्यसबेला लामिछाने केन्यामा क्यारेबियन लिग खेल्न पुगेका थिए । उजुरी परेपछि भदौ २३ गते क्यानले उनको कप्तानी निलम्बन गरिदियो । निलम्बनमा परेपछि लिग नखेल्ने भन्दै फेसबुक स्ट्याटसमार्फत छिट्टै नेपाल आउने बताए । तर, प्रहरीले उनलाई पक्राउ गर्ने पूर्जी अदालतबाट जारी गरेर अध्यागम विभागको कालोसूचीमा राखिदियो ।

तर, उनी नेपाल कहिले आउने ठेगान नभएपछि प्रहरीले असोज ११ गते उनीविरुद्ध इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गरिदियो । त्यसको ठीक दुई दिन अघि सन्दीपले आफू मानसिक रूपमा अस्वस्थ रहेको भन्दै छिट्टै नेपाल आउने बताए । असोज १६ गते पुनः फेसबुकमार्फत २० गते नेपाल आउने बताएसँगै प्रहरीले बिहानैदेखि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा बढायो । र, १०:५० बजे उनलाई प्रहरीले हतकडी लगाएर हिरासतमा लियो ।

हिरासतमा लिएसँगै काठमाडौँ मेडिकल कलेजमा स्वास्थ्य परीक्षण गराएर गौशाला प्रहरीले अनुसन्धान सुरु गरेको छ । आइतबार मात्रै अदालत खुल्ने भएकाले त्यसपछि मात्रै प्रक्रिया सुरु हुनेछ । मुलुकी फौजदारी कार्यविधि संहिता ऐन २०७३ का अनुसार जाहेरी लिएको महानगरीय प्रहरी परिसर काठमाडौंले सन्दीपसँग बयान लिनेछ । बयानका क्रममा उनले आफूमाथि लागेको आरोपको प्रतिवाद गर्ने मौका पाउनेछन् । उनले आरोप झुटा रहेको भनी आफ्नो दलिल पेस गर्ने मौकासमेत पाउँछन् ।

फौजदारी कानुनमा पीडितको जाहेरी र अनुसन्धान अधिकृतसमक्ष गर्ने भनाइलाई महत्त्वपूर्ण प्रमाण मानिन्छ । यसैले अदालतले पीडित किशोरी र उनका संरक्षकको पनि बयान लिनेछ । प्रमाण संकलनको लागि प्रहरीले पीडित किशोरीले स्वास्थ्य परीक्षणसमेत गराइसकेको छ । साथै, घटना भएको भनिएको होटेलमा गएर सीसीटिभी फुटेज संकलन गरिसकेको छ । २५ दिनसम्म अनुसन्धान गर्न सकिने समय प्रहरीसँग छ ।

अनुसन्धान टुंगिएपछि सन्दीपविरुद्ध जबरजस्ती करणी गरेको प्रमाण भेटिए प्रहरीले मुद्दा चलाउन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंलाई राय दिन्छ । जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौंमा सन्दीपविरुद्ध मुद्दा दायर गर्नेछ । र, पुनः बयान लिइनेछ । बयान सकिएपछि थुनछेक बहस हुने छ ।

यो प्रक्रिया सकिएपछि जिल्ला अदालतले लामिछालाई थुनामा राख्ने, धरौटीमा छाड्ने वा सामान्य तारिखमा छाड्ने भन्ने आदेश दिनेछ । तर, लामिछानेविरुद्ध बलियो प्रमाण नभेटिए उनी धरौटीमा रिहा हुन सक्नेछन् भने प्रमाण भेटिएको खण्डमा उनी पुर्पक्षका लागि थुनामा जानेछन् । र, थुनामा रहेरै मुद्दा लड्नेछन् । उजुरीकर्ताले सन्दीपले आफूलाई पिंगलास्थानको होटल काठमाडौं इनमा दुई पटक बलात्कार गरेको बयान दिएकी छन् ।

त्यसअघि, आफूलाई नगरकोट लगेको समेत उजुरीमा उल्लेख गरेकी छन् । पीडित नाबालिग भएकाले यसमा मुलुकी अपराध संहिता २०७४ अनुसार बालयौन दुरुपयोग गर्न नहुने कसूर आकर्षित हुनसक्ने छ । ‘कसैले करणीको आशयले बालबालिकालाई अस्वाभाविक रूपमा एकान्तमा लगे, यौनसम्बन्धी अङ्ग छोए वा अन्य कुनै यौनजन्य अस्वाभाविक व्यवहार गरे बालयौन दुरुपयोग’ हुने यसको उपदफा (२) मा भनिएको छ । यी आरोप पुष्टि भएमा लामिछानेलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने छ । यी सम्भावित घटना भने प्रहरीको अनुसन्धानसम्म पर्खनुपर्नेछ ।

Sd 01