२० बैशाख २०८१, बिहीबार

इतिहासको कुनै विन्दुमा पुनः भेटिने छाैं: भुसाल

ghanashyam bhusal
फाइल फोटो

नेकपा (एमाले)का स्थायी कमिटी सदस्य घनश्याम भुसालले पार्टी परित्याग गर्नुभएकाे छ ।

उहाँले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै एमाले अध्यक्ष केपी ओलीसँगै रहेर आन्दोलन र आफैप्रति इमान्दार रहन नसक्ने भन्दै पार्टी परित्याग गर्ने घोषणा गर्नुभएकाे हाे ।

“…म स्वयंले ४५ वर्षसम्म आफ्नो सम्पूर्ण सामर्थ्य समर्पित गरेको यो पार्टीमा नीति र विधिको पुनःस्थापना हुने कुनै सम्भावनासमेत नदेखेपछि, अध्यक्ष ओलीसँगै रहेर आन्दोलन र आफैप्रति पनि इमान्दार रहन नसकिने भएपछि यस पार्टीमा नरहने निष्कर्षमा पुगेको छु,” भुसालले लेख्नुभएकाे छ।

उहाँले एमाले अहिले ओलीको दम्भ र स्वेच्छाचारिताको कैदी हुन पुगेको समेत बताउनुभएकाे छ । उहाँले आफूले पार्टी त्यागे पनि राष्ट्रको हितका लागि सक्रिय रहने बताउनुभएकाे छ ।

“अहिले यो पार्टी कमरेड केपी शर्मा ओलीको दम्भ र स्वेच्छाचारिताले— केवल दम्भ र स्वेच्छाचारिताको कैदी हुन पुगेको छ । नेकपा एमालेको गौरवलाई कुनै दिन पुनःस्थापित गर्न सकिन्छ भन्ने आशा र विश्वासले चरम अपमान र विभेद सहँदै मैले पार्टीमा नीति र विधिको पक्षमा सङ्घर्ष गर्दै आएको कुरा सर्वविदित नै छ ,” भुसालले लेख्नुभएकाे छ, “तर, नेकपा एमालेभित्र रहँदा विधि, पद्धति र सही नीतिका लागि सङ्घर्षमा लागेका सहयोद्धा र सहकर्मीहरुप्रति सदा मेरो ऐक्यवद्धता रहनेछ । राष्ट्रको सर्वोपरि हितका लागि म उत्तिकै सक्रिय रहने छु । कमरेडहरु ! सत्य र सही बाटाको खोजमा इतिहासको कुनै विन्दुमा हामी पुनः भेट हुनेछौँ ।”