६ बैशाख २०८१, बिहीबार

नेता व्यवस्थापनमै किचलो माओवादी केन्द्रमा

Maoist center
फाइल फोटो

सत्तारुढ गठबन्धनमा सिट बाँडफाँटको रस्साकस्सी चलिरहेका बेला नेकपा माओवादी केन्द्रमा भने नेता व्यवस्थापनको किचलो सुरु भएको छ । जिल्ला तहबाटै राजीनामा आउन थालेपछि असन्तुष्टि समाधान गर्न कार्यदल नै बनाउने तयारी माओवादीले थालेको छ ।

गठबन्धनका तर्फबाट भागमा पर्ने प्रत्यक्षतर्फका सीमित सिट र समानुपातिकमा नदोहोर्‍याउने रणनीतिका कारण माओवादी केन्द्रमा नेता व्यवस्थापनमा समस्या देखिएको हो । चुलिँदै गएको असन्तुष्टि समाधान गर्न पार्टीले कार्यदल नै बनाउने तयारी गरेको छ ।

राष्ट्रियसभा सदस्यसमेत रहेका पार्टी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसमेत गठबन्धनप्रति खासै सन्तुष्ट छैनन् । उनी प्रतिनिधिसभामा गोरखाबाट चुनाव लड्न चाहन्थे । तर बाबुराम भट्टराईसँग अध्यक्ष पुष्पकमल दाहालले थालेको सहकार्यले श्रेष्ठको मनसायमा पूर्णविराम लागेको छ ।

श्रेष्ठ यो विषयमा मौन रहे पनि उनी खास सन्तुष्ट छैनन् । यसअघि बामतालमेलमा नै जोड दिँदै आएका श्रेष्ठ, भट्टराईसँगको चुनावी सहकार्यपछि झस्किएको बताईन्छ । टिकट नपाउने भएपछि माओवादीका कतिपय प्रभावशाली नेता यसपटक पार्टीमा मात्र सीमित हुने देखिन्छ ।

प्रत्यक्षमा निरन्तरता दिने तर समानुपातिकमा नदोहोरिने रणनीतिले धेरै नेतालाई अप्ठ्यारो पारेकाले माओवादीमा असन्तुष्टि चुलिन थालेको हो ।