११ बैशाख २०८१, मंगलवार

झापा क्षेत्र नम्बर ३ मा चुनावी प्रतिस्पर्धा रोचक हुने

rajendra krishna durga

मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा झापाको क्षेत्र नम्बर ३ को प्रतिस्पर्धा रोचक हुने देखिएको छ । यहाँ नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र राजसंस्था पुनःस्थापनाको लक्ष्य बनाएको राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन भिड्दैछन् । दुवै जना प्रतिनिधिसभामा प्रत्यक्षतर्फ यहीँबाट एकल सिफारिसमा परेका छन् ।

२०७० को दोस्रो संविधानसभा निर्वाचनमा राप्रपाका राजेन्द्र लिङदेनलाई पराजित गरी काँग्रेस नेता कृष्णप्रसाद सिटौला विजयी बने । ०७४ को निर्वाचनमा लिङदेनले सिटौलालाई पराजित गरे ।

सिटौला ०७४ मा समानुपातिकतर्फको सूचीमा पहिलो नम्बरमा थिए । त्यसलाई अस्वीकार गर्दै प्रत्यक्ष चुनाव लडे । तर लिङदेनसँग झण्डै १३ हजार मतले पराजित बने । तर यस पटक वाम गठबन्धनको अवस्था नरहेको र वडागत एक्लै ५७ प्रतिशत मत प्राप्त गरेकाले सिटौलाको विजय निश्चित रहेको स्थानीय कांग्रेस नेताको दाबी छ ।

झापा ३ लाई राप्रपाका नेता-कार्यकर्ताले पार्टीको राजधानीका रुपमा लिने गर्छन् । यहाँ सम्पूर्ण शक्ति परिचालित भएकाले आफ्नो विजयमा राप्रपा ढुक्क छ ।

एमालेले यही क्षेत्रबाट मेडिकल व्यवसायी दुर्गा प्रसाईँसहित ३ जनाको नाम सिफारिस गरेको छ । प्रसाईँले चुनाव नलड्ने बताईसकेका छन् ।

अध्यक्ष केपी शर्मा ओलीले स्थानीय आवश्यकताका आधारमा चुनावी तालमेल हुन सक्ने बताईरहेका छन् । स्थानीय नेता-कार्यकर्ता पनि यही कुरालाई जोड दिन्छन् ।

चुनावमा दलहरुले गठबन्धन या तालमेल जे गरे पनि मतदाताले भोट दिईहाल्छन् भन्ने छैन । गत स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारको विजय यसको उदाहरण भएको विश्लेषकको भनाइ छ ।

क्षेत्र नम्बरमा ३ मा ३ वटा गाउँपालिका र एउटा नगरपालिका छ । गत स्थानीय तह निर्वाचनमा बाह्रदशीमा एमाले र हल्दीवारीमा राप्रपा विजयी भए । कचनकवलमा राप्रपाविरुद्ध काँग्रेस-एमाले गठबन्धन विजयी भयो ।

भद्रपुर नगरपालिकामा सत्ता गठबन्धनबाट प्रमुखमा काँग्रेस र उपप्रमुखमा राप्रपा विजयी हुँदा एमाले पराजित भयो । स्थानीय निर्वाचनको मतभारमा पहिलो काँग्रेस, दोस्रो राप्रपा र तेस्रो एमाले छ । यस क्षेत्रको अबको नतिजा दलबीच बन्ने समीकरणले नै निर्धारण गर्नेछ ।