१६ चैत्र २०८०, शुक्रबार

दिन दहाडै हतियार देखाएर आईएमई लुटपाट

gun

सर्लाहीकाे दक्षिणी क्षेत्र गोडैता बजारमा सञ्चालनमा रहेको एक आईएमईमा दिन दहाडै लुटपाट भएको छ । शुक्रबार बिहान सर्लाहीको गोडैता नगरपालिका–८ बजारमा सञ्चालनमा रहेको आईएमई पसलमा लुटपाट भएको हो ।

चार जनाको समुहमा रहेका नकाबधारी समूहले हतियार देखाएर आईएमईबाट ८ लाखभन्दा बढी रकम लुटपाट गरेको प्रहरीले जनाएको छ । लुटेरा समुह रकम लुटेर तत्काल फरार भएको स्थानीयले बताए । घटना स्थलबाट दुई सय मिटरको दुरीमा प्रहरीचौकी रहेको छ ।

लुटेरा समूहले आईएमईबाट एक थान कम्प्युटर सहित नगद ८ लाख ५० हजार रुपैयाँ लुटेर लगेको आईएमई संचालकको भनाई छ । बिहान १० बजेको समयमा दुईवटा मोटरसाइकलमा चार जना नकाबधारी समूह आएका र उनीहरुले हतियार देखाई लुटपाट गरेको सञ्चालक शुभनारायण पण्डितले बताए । 

घटनालगत्तै प्रहरी नायव उपरीक्षकको कमान्डमा त्यस क्षेत्रमा व्यापकरुपमा प्रहरी परिचालन गरिएको छ । प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक विजय यादवको नेतृत्वमा त्यस क्षेत्रमा प्रहरी परिचालन गरिएको हो । प्रहरी नायव उपरीक्षक यादवले घटना बारेमा सोधपुछ तथा लुटेरा समूहको पहिचानको प्रयास भईरहेको प्रहरीले जनाएको छ ।