१२ बैशाख २०८१, बुधबार

सहमतिको नजिक गठबन्धन दल सिट बाँडफाँडका विषयमा: अध्यक्ष प्रचण्ड

prachanda photo 1024x682 1

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनका लागि सिट बाँडफाँडको विषयमा गठबन्धन दल सहमतिको नजिक पुगेको बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सिट बाँडफाँडको विषयमा दलहरू बीच कुनै अप्ठ्यारो र असहज अवस्था नभएको प्रष्ट पार्नुभयो ।

जसरी बाहिर अप्ठ्यारो असहज भन्ने कुरा आइरहेको छ त्यसमा कुनै अप्ठ्यारो र असहज छैन भन्नुहुँदै उहाँले यही भदौ १५ गतेभित्र सबै विषय टुङ्ग्याउने गरि कार्यदलले काम गरिरहेको बताउनुभयो ।

उहाँले १ सय ६५ सिट भित्रै गठबन्धन दलहरू बीच सहमति जुट्ने र कार्यदललाई कुन क्षेत्रमा कुन दलको जित्ने सम्भावना कस्तो छ सो कुरालाई कार्यदललाई आफूहरूले हेर्न लगाएको बताउनुभयो ।

कसैले पनि आफ्नो गोरुको बाह्रै टका भन्नु हुर्दैन सहमतिको लागि दलहरू जिम्मेवार, लचिलो र उद्धार हुनु आवश्यक रहेको उहाँको भनाई छ ।

एक प्रश्नमा अध्यक्ष दाहालले नागरिकता विधेयक राष्ट्रपतिबाट चाडै प्रमाणीकरण हुने र राष्ट्रिय सभाबाट पारित हुने बताउनुभयो । नागरिकता विधेयकले घटनाक्रमलाई केही तरङ्गित गरेपनि यसले कुनै राजनीतिक संकट नल्याउने र यो समाधान भएरै जाने उहाँको भनाई छ । उहाँले विधेयकले कुनै संकट नल्याउने र सबैको सहमतिमा विधेयक पास हुने बताउनुभयो ।