आँखामा समस्या देखिएपछि शिक्षण अस्पताल भर्ना भएका नक्खु कारागारका कैदी फरार, कार्यालय प्रमुख हटाइए

ललितपुरको नख्खु कारागारमा कैद भुक्तान गर्दै आएका एक कैदी बुधबार त्रिवि शिक्षण अस्पतालबाट फरार भएका छन् ।
शिक्षण अस्पतालमा आँखा जाँचका लागि लगिएका कैदी बुधबार दिउँसो करिव सवा ४ बजेतिर फरार भएका हुन् । फरार हुनेमा रामेछापका भोला बुढाथोकी रहेका छन् ।
नक्खु कारागारका प्रमुख सुवासकुमार लामिछानेले अस्पतालबाटै कैदी फरार भएको बताए ।
झुसेली कीरा परेर आँखामा समस्या देखिएपछि उनको पहिले देखिनै उपचार हुँदै आएको थियो । फलोअपको लागि आज अस्पताल लग्दा उनी भागेका हुन् ।
उनको एक हातमा हतकडी रहेको थियो । उपचारको लागि कैदीबन्दीको एउटा हतकडी खोल्ने गरिन्छ ।
कर्तव्य ज्यानको मुद्दामा कैद भुक्तान गरिरहेका बुढाथोकीलाई २०७२ सालमा नक्खु कारागार ल्याइएको थियो ।
अस्पतालबाट कैदी फरार प्रकारण: छानबिन समिति गठन, कार्यालय प्रमुख हटाइए
उपचारका क्रममा अस्पतालबाट फरार भएका कैदी बन्दीका बारेमा छानबिन गर्न प्रहरीले समिति गठन गरेको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयले एक सूचना जारी गर्दै आज उपचारका क्रममा टिचिङ अस्पतालबाट फरार भएका रामेछाप पिल्पुङ्ग गापा २ का भोला बुढाथोकी फरार भएको बारे छलबिन गर्न समिति गठन गरिएको हो ।
प्रहरी उपरीक्षक देवेन्द्रबहादुर पालको संयोजकत्वमा ४ सदस्यीय छानबिन समिति गठन भएको विज्ञप्तिमा जनाइएको छ ।
कैदी फरार भएपछि नेपाल प्रहरी अनाश्रीत गुल्म नख्खुको कार्यालय प्रमुखलाई जिम्मेवारीमा हटाइ कैदीको सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई आजैका मितिबाट नलम्बन गरिएको प्रहरी उपरीक्षक पालले जारी गरेको सूचनामा जनाइएको छ ।