६ बैशाख २०८१, बिहीबार

समन्वय गरेर आगामी राजनीतिक यात्रा सहज बनाउने प्रयास

Fa55aapaQAE4soD

नागरिकता र द्वन्द्व पीडितका मुद्दाबारे पार्टीको सरोकार राख्न एमाले अध्यक्ष केपी शर्मा ओली बुधबार प्रधानमन्त्री निवास बालुवाटार छिरेका हुन् । यसअघि ओली अमेरिकी अनुदान सहयोग सम्वन्धी सम्झौता एमसीसी संसदबाट पारित गर्ने बेला देउवालाई भेट्न गएका थिए ।

राजनीतिक आवरणमा एक अर्कालाई चर्को आलोचना गर्ने यी दुई नेताबीच सहकार्यको सुरुवात भने २०५४ सालमा पारित महाकाली सन्धिपछि हो । त्यसयता सत्तामा रहँदा होस् या विपक्षीको भूमिकामा, उनीहरुबीच प्राय सहकार्य भएको देखिन्छ ।

२०७४ को निर्वाचनपश्चात् ओली सत्तामा रहँदा प्रमुख विपक्षी नेताका रूपमा देउवाले सम्वन्ध हार्दिकतापूर्ण नै राखेका थिए । यतिसम्मकी तत्कालीन कांग्रेस सरकारले नियुक्त गरेका अधिकांश राजदूतलाई फिर्ता गर्दा ओलीले देउवाकी सासु एवं राप्रपा नेतृ प्रतिभा राणालाई जापानबाट फिर्ता गरेनन् ।

संवैधानिक नियुक्तिका विषयमा अप्ठेरो पर्दा ओलीले २०७७ मंसिरमा देउवालाई भेटेर सत्ता साझेदारीको प्रस्ताव नै गरे । र, देउवानिकट जयबहादुर चन्दलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त बनाए।

सत्य निरूपण तथा मेलमिलाप आयोग, बेपत्ता छानबिन आयोग र विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा समेत ओलीले देउवालाई भाग दिए ।

बालुवाटार जग्गा प्रकरण, स्वास्थ्य उपकरण खरिद जस्ता अनियमितता प्रकरणमा ओली विवादको केन्द्र बन्दा देउवा मौन बसिदिए । विज्ञप्ति जारी गर्ने बाहेक अरु कदम नचालेपछि पार्टीभित्रैबाट देउवालेओलीको सारथी बनेको आरोप खेप्नु परेको थियो ।

२०७७ पुष ५ मा ओलीले पहिलो पटक संसद विघटन गर्दा देउवाले मौन समर्थन जनाएका थिए । २०७८ असार २९ गते देउवा सत्तामा पुगेपछि एमसीसीमा अप्ठेरो पर्दा ओलीले देउवालाई सघाए ।

सत्ता पक्षमै एकमत नभएपछि देउवा पुसमा पहिलो पटक ओलीनिवास बालकोट पुगेका थिए । पछि ओली पनि बालुबाटार छिरेका थिए । त्यो बेला आउजाउ चलिरह्यो ।

त्यसो त ओलीले आफू सत्ताच्युत हुनुको प्रमुख दोष सर्वोच्च अदालत र सभामुखलाई दिने गरेका छन् । सभामुख पार्टी विभाजनको प्रमुख दोषी भन्दै एमालेले लामो समय संसद अवरुद्ध गर्दा ओली र देउवाबीचको सम्वन्धमा देखिने उतारचढाव आएन ।

अहिले पनि देउवाले दाहाल र नेपालसँग मात्र होइन, ओलीसँग पनि समन्वय गरेर आगामी राजनीतिक यात्रा सहज बनाउन खोजेको राजनीतिका जानकारहरु बताउँछन् ।

नागरिकता विवाद, प्रधानन्यायाधीशविरुद्धको महाअभियोग, संक्रमणकालीन न्यायसम्बन्धी विधयेकलगायतमा पनि देउवा-ओली एक अर्काको चित्त नदुखाइ अघि बढ्ने संकेत देखिँदै छन् ।