१५ चैत्र २०८०, बिहीबार

स्पेशल शो हेरेपछि फिल्म ‘प्रेमगन्ज’को तारिफ गरेर थाकेनन् निर शाह, निशा अधिकारी देखि विजय लामासम्म

prem

शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘प्रेमगन्ज’लाई स्पेशल शोमा रुचाइएको छ । शुक्रबार सम्पन्न शोमा अधिकांसले फिल्मको प्रशंसा गरे ।

सामान्य प्रचारका साथ् रिलिज भएको फिल्मको हाइप मध्यम थियो । मंगलबार सम्पन्न प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया पाएपछि निर्माण पक्षले शुक्रबार स्पेशल शो आयोजना गरेको हो । शोमा केहि सेलेब्रेटी र फिल्म पत्रकारहरुको उपस्थिति थियो ।

वरिष्ठ अभिनेता निर शाहले फिल्मको निर्देशकीय, छायांकन र अभिनय पाटोमा प्रशंसाका शब्द खर्चिए । ‘परम्परागत शैलीमा बनेको फिल्म, त्यसलाई चाखलाग्दो तरिकाले प्रस्तुत गर्न गाह्रो हुन्छ ।

निर्देशकले जुन ढंगबाट फिल्म बनाउने सोच्नु भयो त्यो कठिन बाटो रोज्नु भयो । त्यस कठिन कामलाई प्रभावशाली ढंगले पुरा गर्न उहाँले एउटा बलियो साधनको साहारा लिनु भएको छ । त्यो बलियो साहारा भनेको इमान्दारिता हो ।’ शाहले भने ।

‘प्रत्येक फ्रेममा निर्देशकको इमान्दारिता देखिन्छ । प्रत्येक फ्रेममा छायाँकारको इमान्दारिता देखिन्छ । निर्देशक र छायाँकारको इमान्दारिताले कलाकारहरुले फिल्ममा प्रभाव छोडेका छन् । एउटा मन छुने राम्रो फिल्म बनेको छ ।

यो फिल्मले यस जनराको फिल्महरुलाई माथि पुर्याउन योगदान गर्नेछ । बेनिषा जी एक हदमा परिमार्जित भैसक्नु भएको कलाकार, बालकलाकारदेखि वयस्कसम्म निर्देशकले जुन किसिममा प्रस्तुत गर्नु भएको छ, त्यो सराहनीय छ ।’ अभिनेता शाहले थपे ।

अभिनेत्री निशा अधिकारीले फिल्मको तारिफ गरेर थाकिनन् । ‘दुई पुस्ताको प्रेमकथा एकदमै मन पर्यो । यसले किशोर-किशोरी र युवा पुस्तालाई मज्जाले बाँध्न सक्छ । बेनिशा र तेजको अभिनय दमदार छ । तेजले मलाई रुवाउनु भयो । उहाँको आँखा बोल्दो रहेछ । अन्य किशोर-किशोरीले राम्रो अभिनय गर्नु भएको छ ।’ निशाले भनिन् ।

परिच्छेद सेनले निर्देशन गरेको फिल्ममा बेनिशा हमाल, तेज गिरी, राइडर प्रशन, सुप्रिया खनाल, सिमरन खड्का, सम्पदा बानियाँ, पवन भट्टराई, नरेश पौडेल, रश्मि भट्टलगायतका कलाकारहरुको अभिनय छ ।

निर्देशक सेनकै कथा रहेको फिल्ममा संजय लामाको छायांकन र अर्जुन जिसीको सम्पादन छ ।