७ बैशाख २०८१, शुक्रबार

वित्तीय प्रगति गर्न सफल पूर्वाधार विकास कार्यालय लमजुङ

lamjung

पूर्वाधार विकास कार्यालय लमजुङ ७५ प्रतिशत वित्तीय प्रगति गर्न सफल भएको छ । आर्थिक वर्षको २०७८/०७९ मा ९० करोड २३ लाख ४ हजार रुपैयाँ बजेट विनियोजित भएकोमा कार्यालय ६५ करोड ३६ लाख ५१ हजार ६ सय ८० रुपैयाँ खर्च गरी ७५ प्रतिशत वित्तीय प्रगति गर्न सफल भएको हो ।

आर्थिक वर्ष २०७८/०७९ को एक निर्वाचन क्षेत्र एक सडकका लागि ३ वटा योजना रहेकोमा एक मात्र सम्पन्न भएको पूर्वाधार विकास कार्यालयका सब–इन्जिनियर विक्रम बहादुर क्षेत्रीले बताए ।

एक निर्वाचन क्षेत्र एक सडकको नेपालडाँडा–तार्कुघाट–बोराङ्गखोला सडक सम्पन्न भएको सब–इन्जिनियर क्षेत्रीले बताए । उक्त सडकको भौतिक प्रगति सत प्रतिशत र वित्तीय प्रगति ९६ प्रतिशत भएको कार्यालयले जनाएको छ । 

करपुटार–डडुवा–साल्भेभञ्याङ्ग–मालिङ–कपुरगाँउ सडक (क्व्होलासोथर गाउँपालिका केन्द्र जोड्न सडक) भौतिक प्रगति ३७ प्रतिशत र वित्तीय प्रगति ४० प्रतिशत भएको कार्यालयले जनाएको छ । करपुटार–डडुवा–साल्भेभञ्याङ्ग–मालिङ–कपुरगाँउ सडक (क्व्होलासोथर गाउँपालिका जोड्ने तेस्रो खण्ड) योजनाको ३० प्रतिशत भौतिक प्रगति र २३.७८ प्रतिशत वित्तीय प्रगति भएको कार्यालयले जनाएको छ ।

त्यस्तै, स्थानीय तहका केन्द्र जोड्ने सडक आयोजनामा उदिपुर–रिठ्ठेबगर–रामचोकबेसी–नौथरबेसी दोर्दी गाउँपालिका केन्द्र जोड्ने सडकको भौतिक प्रगति ५५ प्रतिशत र वित्तीय प्रगति ३४.५५ प्रतिशत भएको कार्यालयले जनाएको छ । प्रादेशिक ‘क’ वर्ग अन्तर्गतका सडक आयोजनाहरू मध्ये बेसीशहर–बाग्लुङपानी–घलेगाउँ–भजुङ सडक कालोपत्रे योजनाको भौतिक प्रगति ५५ प्रतिशत र वित्तीय प्रगति ३९ प्रतिशत वित्तीय प्रगति भएको छ ।


सिङदी–पसगाउँ–बगैँचा सडक (कास्की र लमजुङ जोड्ने) योजनाको भौतिक प्रगति ७८ प्रतिशत र वित्तीय प्रगति ६४ प्रतिशत भएको पूर्वाधार विकास कार्यालयका प्रमुख सुमन गिरिले बताए । प्रादेशिक ‘ख’ वर्ग अन्तर्गत २ वटा योजना सम्पन्न भएको कार्यालयले जनाएको छ । 

भोटेवडार–बेलघारी–भार्ते–गौडा सडकको भौतिक प्रगति सत प्रतिशत र वित्तीय प्रगति ९४ प्रतिशत भएको कार्यालयले जनाएको छ । खत्रीठाँटी–कुन्छा–सोतीपसल सडकको हाडेटार कुन्छा (भतुवा) सडक खण्डको भौतिक प्रगति ३० प्रतिशत र वित्तीय प्रगति २१.१६ प्रतिशत भएको कार्यालयले प्रमुख गिरीले बताए । 

त्यसैगरी, आर्थिक वर्ष ०७८/०७९ को अन्य ५७ वटा साना योजना रहेकोमा ५४ वटा सम्पन्न भएको र ३ वटा योजना सम्झौता नभएको कार्यालयले जनाएको छ । प्रदेश अन्तर्गतका सडक पुल अन्तर्गत ८ वटा आयोजनाहरू रहेकोमा ४ वटा आयोजनाहरू रहेका छन् । जनता आवास कार्यक्रमको भौतिक प्रगति ९४ प्रतिशत र वित्तीय प्रगति ६२ प्रतिशत भएको  कार्यालयले जनाएको छ ।  

निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम अन्तर्गत ६१ वटा कार्यक्रम रहेकोमा ६० वटा सम्पन्न नभएको र १ वटा सम्झौता नभएको कार्यालयले जनाएको छ । निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमको भौतिक प्रगति ९० प्रतिशत र ८६.५२ प्रतिशत वित्तीय प्रगति गरेको कार्यालयले जनाएको छ ।