२६ बैशाख २०८१, बुधबार

पदीय मर्यादाको ख्यालै गर्दैनन् एमाले अध्यक्ष ओली

kp oli
फाइल फोटो

दुई पटक प्रधानमन्त्री भइसकेका एमाले अध्यक्ष केपी शर्मा ओली सार्वजनिक रुपमै अरुलाई कटाक्ष र हलुका टिप्पणी गर्न रुचाउँछन् ।

आफ्ना विरोधीमाथि त उनी अमर्यादित आरोप प्रत्यारोपसहित बारम्बार खनिन्छन् पनि । आफूलाई एक्लाएको आक्रोशमा ओलीले पूर्वसहकर्मीलाई ‘देशद्रोही’ कै संज्ञा दिनु त्यसैको पछिल्लो उदाहरण हो ।

पूर्वसहकर्मीविरुद्ध खनिएका एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार नेकपाका पाँच नेतालाई देशद्रोहीको संज्ञा दिन भ्याए । ती पाँच नेता हुन्, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठ ।

मुलुकी अपराध संहिताले नेपाल सरकार वा संवैधानिक संरचनालाई पल्टाउने नियतले कसैले सैनिक, अर्धसैनिक वा आपराधिक बलको प्रदर्शन वा प्रयोग गरी कुनै अव्यवस्था उत्पन्न गर्न वा हातहतियार सहित सैनिक वा अर्धसैनिक संगठन निर्माण वा त्यस्तो षडयन्त्र वा उद्योग गर्न वा गराउनुलाई राजद्रोह भनेको छ । यति गम्भीर आरोप ओलीले आफ्नै पूर्वसहकर्मी विरुद्ध किन लगाए त ?

राजद्रोहको कसूर गर्ने व्यक्तिलाई २५ बर्षसम्म कैद हुने कानुनी व्यवस्था छ । प्रमाण पुष्टी नभए आरोपीविरुद्ध सार्वजनिक कसुरमा उजुरी समेत गर्न सकिन्छ । यो कानुनी विषयको कुरा भयो । तर प्रधानमन्त्री भैसकेका नेताले राजनीतिक स्वार्थ नमिल्दा अमर्यादित र आपत्तिजनक अभिव्यक्ति दिनुलाई कसरी बुझ्ने ?

अरु कतिपय नेताहरु समेत बेलाबखत अमर्यादित आरोप प्रत्यारोपमा उत्रिने गरेको देखिन्छ । तर ती सबैलाई उछिन्दै ओलीले पदीय मर्यादाको ख्यालै नगरी राजनीतिक विरोधीमाथि अपाच्य टिप्पणी गर्छन् । ओलीको त्यही बेलगाम बोली कहिले हाँसीमजाक लाग्छ, धेरैजसो अरुको बदख्वाई गर्ने खालको हुन्छ।