८ बैशाख २०८१, शनिबार

प्राकृतिक सौन्दर्यले भरिपूर्ण लमजुङको भलामचौर गाउँ

bhalamchaur village lamjung

हिमाल र नदीको काखापोल्टामै छ, प्रकृतिले फुर्सदमा सिँगोरे झैँ लाग्ने लमजुङको भलामचौर गाउँ । भलामचौरको सौन्दर्यलाई हेरेर यहाँ पुग्नेको मन अघाउँदैन, आँखा थाक्दैनन् ।

प्रसिद्ध अन्नपूर्ण पदमार्ग र गुरुङ सम्पदा मार्गमा पर्ने भएकाले पनि यस गाउँको पर्यटन विकासको सम्भावना र भविष्य निकै राम्रो छ । 

बेसीसहरदेखि खुदीसम्मको बाटो स्तरोन्नति भइरहेको छ । खुदीदेखी भलामचौर र घलेगाउँसम्म पुग्ने बाटोको थप स्तरोन्नति गर्न सकेमा यस क्षेत्रमा कृषि र पर्यटन क्षेत्रको विकासबाट थुप्रैलाई घरगाउँमै स्वरोजगार बनाउन सकिनेछ । 

भलामचौरका ३० घरमा होमस्टे सञ्चालन गरिएको छ । यहाँ एक पटकमा ६० जना पर्यटक बस्न सक्ने क्षमता छ । एक रात बसेको, खाना–खाजा खाएको प्रति व्यक्तिले एक हजार दुई सय रुपैयाँ तिर्छन् ।

‘सिते बा ग्रुप अन्तर्गत एसजी हस्पिटालिटी नामक कम्पनीले कृषि तथा होमस्टे प्रवर्द्धनका लागि झन्डै चार करोड रुपैयाँमा भलामचौर मिर्चे नमुना कृषि पर्यटन परियोजना सन्चालन भइरहेको छ । कम्पनीले स्थानीयसँग सम्झौता गरि होमस्टे व्यवस्थापन र कृषि उत्पादनका काम गरिरहेको छ । 

झन्डै ५० रोपनी जमिनमा ९० वटा टनेल निर्माण गरी तरकारी उत्पादन भइरहेको कम्पनीका प्रवद्र्धक नवीनराज कुइँकेलले बताए । 

गाउँमा आउने पर्यटक लक्षित अर्गानिक तरकारीमात्रै नभइ धान कोदो, कुखुरासमेतको व्यावसायिक उत्पादन गरि गाउँमा आएका पाहुनालाई गाउँकै स्वादमा रमाउने गरि पर्यटन व्यवसाय सञ्चालन भइरहेको छ । गाउँ आउने पाहुनालाई स्थानीयस्तरमै उत्पादन भएका खानेकुरा मात्रै खुवाउने गरिएको छ ।

गाउँ आउने बित्तिकै पर्यटकलाई स्वागत, उनीहरूको इच्छाअनुसारको स्थानीय परिकार, गुरुङ संस्कृतिमा आधारित घाटु, सोरठी कृष्णचरित्र देखाएर गाउँलेले मनोरञ्जन प्रदान गर्छन् ।  

बाइसे–चौबीसे राजाको पालामा रहेको गढी पनि गाउँ नजिकै छ । सुन्दरी तलाउ, मान्द्रे ढुङ्गा र तीन कन्यादेवी मन्दिर, पहराको कलादेवी, सिद्ध मन्दिर पनि पर्यटकीय गन्तव्य हुन् ।