१६ आश्विन २०७९, आईतवार

सप्तरीमा करेन्ट लागेर ससुरा–बुहारीसहित तीन जनाको निधन

death by electric current

सप्तरीमा बुधबार करेन्ट लागेर ससुरा–बुहारीसहित तीन जनाको निधन भएको छ ।

कञ्चनरुप नगरपालिकामा गए राति करेन्ट लागेर दुई जनाको निधन भएको हो । निधन हुनेमा कञ्चनरुप–६ का ४० वर्षीय सौदानन्द सरदार र २० वर्षीया अन्जली सरदार छन् । उनीहरु ससुरा–बुहारी हुन् ।

इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायब उपरीक्षक रामकुमार यादवका अनुसार सात महिनाकी गर्भवती अन्जली आफ्नै आँगनमा मोटर जडान गरिएको ट्युबेलमा पानी लिन जाँदा करेन्ट लागेको हो ।

अचेत भएकी बुहारीलाई छुटाउन गएका सौदानन्दलाई समेत करेन्ट लागेको थियो । दुवै जनाको घटनास्थलमा नै निधन भएको यादवले बताउनुभयो ।

यस्तै सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुरमा ५६ वर्षीय शिवशङ्कर साहको समेत करेन्ट लागेर निधन भएको छ । आफ्नै घरको आँगनमा रहेको चापाकलमा जडान गरिएको मोटरमा पानी तान्ने क्रममा उनलाई करेन्ट लागेको हो ।