१६ चैत्र २०८०, शुक्रबार

सहकारीबाट ठगिँदै बचतकर्ता, किन बढिरहेको छ यस्तो समस्या ?

sahakari bivag

पछिल्लो समय एकपछि अर्को सहकारी संस्थामाथि निक्षेप हिनामिनाको प्रश्न उठ्न थालेको छ । सहकारीबाट निक्षेप फिर्ता नगरिएको भन्दै सहकारी विभागमा उजुरी दिनेहरु बढेका छन् । संचालकहरुको छिटो नाफा कमाउने ध्याउन्न र नियमन अभावमा सर्वसाधारणको लगानी जोखिममा पर्दै गएको देखिएको छ।

निक्षेपकर्ताको ५ अर्ब ८४ करोड रुपैयाँ हिनामिना गरेको कसुरमा सिभिल सहकारीका संस्थापक अध्यक्ष इच्छाराज तामाङसहित १२ जना पूर्पक्षका लागि कारागारमा छन् । उक्त सहकारीमा २ हजारभन्दा बढी निक्षेपकर्ताको रकम फसेको छ।

यस्तै काठमाडौंको कुलेश्वरमा मुख्य कार्यालय रहेको गौतमश्री बहुउद्देश्यीय सहकारीका सञ्चालक फरार भएपछि निक्षेपकर्ताहरु आत्तिँदै केही सहकारी विभागमा उजुरी दिन पुगेका छन् भने केही कार्यालयमा भर्नामा बसेका छन् ।

सोमबारसम्म निक्षेप फिर्ता नदिएको भन्दै गौतमश्री सहकारीका १ हजार २ सय जना सदस्यले विभागमा उजुरी दिएका छन् । धरान उपहानगरपालिकाको बराह बचत तथा ऋण सहकारीका पीडितहरुले मेयर हर्क साम्पाङसँग छलफल गर्नु पुगेका बेला मेयरविरुद्ध नाराबाजी गर्नुका साथै कार्यालयसमेत तोडफोड गरे । यी त प्रतिनिधि घटना मात्र हुन पछिल्लो समय एकपछि अर्को सहकारी समस्यामा पर्न थालेका छन् । सहकारी विभागका अनुसार गत आर्थिक वर्षमा सहकारीका विरुद्धमा ३ सयभन्दा बढी उजुरी परेका थिए ।

विभागमा उजुरी लिएर आउनेहरु दैनिक बढिरहेका छन् । धेरै सहकारीलाई निक्षेप फिर्ता गर्न सकस भइरहेको छ। ललितपुरको देउराली बहुउद्देश्यीय सहकारी संस्था तथा क्षेत्रपाटीको क्यापिटल बचत तथा ऋण सहकारी संस्थाले निक्षेप फिर्ता नदिएको सदस्यको गुनासो छ। संचालकहरुको उच्च महत्वकांक्षाले सहकारीले मनोमानी ढंगले कार्यक्षेत्र बाहिर कारोबार गर्ने गरेका कारण समस्या थपिदै गएको विभागको भनाइ छ ।

अहिले मुलुकमा करिब ३० हजार सहकारी संस्था छन् । तिनलाई नियमन गर्ने केन्द्रीय सहकारी विभाग छ । देश संघीयतामा गएपछि झन तीनै तहका सरकारले सहकारीहरुको नियमन गर्दै आएका छन् । तर प्रभावकारी नियमन हुन सकेको छैन ।

कार्यक्षेत्र विस्तार र बचत संकलनमा होडबाजी गर्ने र सीमित सदस्य तर असिमित कारोबार गर्ने क्रम बढेर गएको छ। छुट्टै संयन्त्र बनाएर प्रभावकारी नियमन नगरी ठगीको उजुरी आएपछि मात्रै पहल थाल्ने हो भने लाखौं सदस्यको निक्षेप त जोखिममा पर्ने छ नै सहकारीप्रति विश्वसनियता पनि गुम्ने छ ।