१६ चैत्र २०८०, शुक्रबार

स्थायी समिति बैठक बस्दै माओवादी केन्द्रको, अर्थमन्त्रीबारे निर्णय हुने

prachanda maobadi perisdanda

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै छ।

आइतबार दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा अर्थमन्त्रीको विषयमा छलफल हुने सम्भावना रहेको छ।

संसदीय छानबिन समितिले चालु आर्थिक वर्षको बजेटमा करको दर हेरफेरमा अनधिकृत व्यक्तिको संलग्नता पुष्टि हुन नसकेको प्रतिवेदन सार्वजनिक गरेपछि उक्त बैठक बस्न लागेको हो।

माओवादी केन्द्रका नेता जनार्दन शर्माले अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर हेरफेरको आरोप लागेपछि अर्थमन्त्रीबाट राजीनामा दिनुभएको थियो । तर छानबिनका क्रममा सो कुरा पुष्टि हुन नसकेपछि शर्मालाई नै अर्थमन्त्रीको रुपमा पठाउने कि अर्को कसैलाई भन्नेबारे निर्णय हुन सक्ने एक नेताले बताए।

शर्माले राजीनामा दिएको असार २२ गते माओवादी केन्द्रका नेता वर्षमान पुनले शर्मा दोषी नदेखिए उहाँ नै पुनः अर्थमन्त्री बन्ने बताउनुभएको थियो । अर्थमा फेरि फर्कने या नफर्कने निर्णय शर्मामाथि नै निर्भर हुने माओवादी नेताहरुको भनाइ छ ।

माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले बैठकमा स्थायी कमिटी र पोलिटव्युरोको पूर्णता लगायका विषयमा आइतबारको बैठकमा छलफल हुने बताएका छन्।