१४ बैशाख २०८१, शुक्रबार

ध्रुवीकरण कसिलो बनाउने कसरत दलहरु, कमजोर हुँदा एकताको कुरा गर्ने अनि शक्तिमा पुगेपछि टिक्नै नसक्ने !

nekapa five leader

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिदै गर्दा दलहरुबीच ध्रुविकरण कसिलो बनाउने कसरत चलिरहेको छ ।

सत्ता गठबन्धनलाई निरन्तरता दिने तयारी भैरहँदा बाम तालमेल र समाजवादी केन्द्रको बहसले समेत चर्चा पाएको छ । यो रणनीति के लागि ? कांग्रेसलाई हावी हुन नदिन, एमालेलाई साईजमा राख्न वा माओवादी केन्द्र र एकीकृत समाजवादीलाई निर्णायक बनाएर शक्ति आर्जन गर्न ? अथवा राजीतिक स्थीरताका लागि ?

सत्तामा बसेर कांग्रेससँगको सम्वन्ध झन कसिलो बनाइरहेका माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरुले मंगलबार बाम ध्रुविकरण, समाजवादी केन्द्र निर्माण र चुनावी तालमेलका सम्भावनाबारे बहस गरे । नेकपाकालीन समयका पाँच शीर्ष नेताबीचको यो जमघट कुरा मिले कम्युनिष्ट शक्तिको एकतासम्ममा केन्द्रित थियो ।

छिमेकी चीनको चासो कम्युनिष्ट शक्तिको एकतामा देखिन्छ । तर प्रधानमन्त्री हुँदा तत्कालिन नेकपा अध्यक्ष केपी शर्मा ओलीले विश्वासघात गरेको ठानेका अरु कम्युनिष्ट पार्टीका नेताहरु यथाअवस्थामा एमालेसँग मिल्ने पक्षमा भने देखिन्नन ।

त्यसमाथि अहिले कांग्रेससँगै मिलेर आफू बलियो बन्ने र एमालेलाई पाठ सिकाउनुपर्छ भन्ने बुझाइ पनि माओवादी र एकीकृत समाजवादीमा बलियो छ । त्यसमा थपिएका छन् एमाले छाडेका बामदेव गौतम पनि ।

एमाले नेताहरु भने समाजवादी केन्द्र र बाम एकताको विषय कांग्रेससँग मोलमलाई गरेर निर्वाचनमा सिट बढाउने रणनीतिसँग जोडिएको संज्ञा दिन्छन् ।

कमजोर हुँदा एकताको कुरा गर्ने अनि शक्तिमा पुगेपछि टिक्नै नसक्ने कम्युनिष्ट प्रवृतिलाई पछिल्लो पटक नेकपाकालीन रडाकोले पुष्टि गरेको हो ।

त्यसैले बाम एकता अबको चुनाव हेरेर मात्रै अघि आएको बुझ्न कठिन छैन । सत्ता गठबन्धनभित्र अर्को समिकरणको कसरतले निकट निर्वाचनसम्म नयाँ सहकार्य बन्ने हो कि भन्ने आंकलन भने गर्न सकिन्छ ।