१६ चैत्र २०८०, शुक्रबार

छानबिन समितिद्वारा अर्थ मन्त्रालयको सीसीटीभी फुटेज अध्ययन शुरु

1657729001 r5oHm

पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले अर्थ मन्त्रालयको सीसीटीभी फुटेज अध्ययन शुरु गरेको छ ।

सिंहदरबारमा बसेको समितिको बैठकले अर्थ मन्त्रालयको मूल गेटदेखिका सीसीटीभीका गतिविधिहरुमा विशेष जोड दिएर अध्ययन गरिरहेको बताएको हो ।

समितिका सचिव सुरेन्द्र अर्यालले शनिबार राजश्व विभाग र भन्सार विभागका महानिर्देशकसँग छलफल गरेको र आजै अर्थ मन्त्रालयका राजश्व सचिव, अर्थसचिवसँग पनि छलफल गर्ने कार्यक्रम रहेको बताउनु भयो । उहाँले आज नै अर्थ मन्त्रालयका विभिन्न महाशाखा प्रमुखहरुसँग छलफल गर्ने कार्यतालिका रहेको पनि बताउनु भयो ।

सचिव अर्यालले आज प्राविधिक विषय सीसीटभिीका बारेमा केन्द्रित भएर छलफल गर्ने र अध्ययनलाई समयसीमाभित्र नै टुंगोमा पुर्‍याउने गरी अघि बढेको बताउनुभयो ।

तत्कालीन अर्थमन्त्री शर्माले २०७९–०८० को बजेट बनाउने क्रममा अनधिकृत व्यक्ति मध्यरातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेसँगै ११ सदस्यीय संसदीय विशेष छानबिन समिति बनेको छ ।

पूर्व अर्थमन्त्री शर्माले संसदीय छानबिन समिति बनेसँगै अर्थमन्त्रीबाट राजीनामा दिनुभएको थियो ।

सीसीटीभी फुटेज खोज्दै अर्थ मन्त्रालय पुग्यो छानबिन समिति

बजेट निर्माणमा बिचौलिया सामेल गराएको सम्बन्धमा छानवीन गर्न बनेको संसदीय विशेष समितिले अर्थ मन्त्रालयको स्थलगत निरीक्षण गरेको छ।

बुधबार अपराह्न अर्थ मन्त्रालय पुगेर ११ सदस्यीय सो संसदीय विशेष समितिले त्यहाँ जडान गरिएको सिसीटिभी फुटेजको स्थलगत निरीक्षण गर्दै विस्तृत जानकारी लिएको हो। त्यहाँको कार्यकक्षमा जडान गरिएको सिसीटीभीको संरचना, कन्ट्रोल मेकानिज्मसहितका विषयमा प्राविधिकहरुसँग जानकारी लिएर स्थलगत निरीक्षण गरिएको समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिए।

समितिका सदस्यहरुलाई अर्थ मन्त्रालयका प्राविधिकहरुले त्यसबारे आवश्यक जानकारी गराएका थिए। ‘कार्यविधिले तय गरे अनुसार समितिका सदस्य, सचिवालयका कर्मचारीसहित अर्थ मन्त्रालयको स्थलगत निरीक्षण गर्‍यौं। मूलतः त्यहाँको लेआउटको सन्दर्भमा निरीक्षण थियो।

सिसीटिभी क्यामेरा कसरी जडान भएका छन् ! कुन–कुन कार्यकक्षमा कसरी त्यसको संरचना बनाइएको छ? त्यसको कन्ट्रोल मकानिज्म कस्तो छ? प्राविधिक क्षेत्रका साथीहरुले त्यसबारे जानकारी गराउनु भयो। दोहोरो संवाद भएन,’ उनले भने।

यसैबीच, समितिले सो घटनाको सम्बन्धमा आवश्यक कागजात बिहीबार (भोलि) दिउँसो २ बजेभित्र समितिलाई उपलब्ध गराउन अर्थ मन्त्रालयलाई पत्राचार समेत गरेको छ।

निवर्तमान अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्षको बजेट निर्माणमा अनधिकृत व्यक्तिहरु सामेल गराएर करको दर हेरफेर गरेको भन्दै प्रमुख प्रतिपक्ष दल एमालेले आरोप लगाएपछि शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएका थिए। सोही घटनाको सत्यतथ्य बाहिर ल्याउन सो संसदीय विशेष छानबिन समिति गठन गरिएको हो।

समितिमा एमालेबाट प्रदीप ज्ञवाली, खगराज अधिकारी, भानुभक्त ढकाल र विमला विश्वकर्मा छन्। त्यसैगरी नेपाली कांग्रेसबाट पुष्पा भुसाल र सीताराम महतो, नेकपा माओवादी केन्द्रबाट देवप्रसाद गुरुङ र शक्तिबहादुर बस्नेत रहनु भएको छ भने नेकपा एकीकृत समाजवादीकी सरलाकुमारी यादव, जनता समाजवादीबाट सुरेन्द्रकुमार यादव र लोकतान्त्रिक समाजवादी पार्टीबाट लक्ष्मणलाल कर्ण छन्।