२८ बैशाख २०८१, शुक्रबार

‘प्रसाद २’मा लफडा ! सुटिङ नै नगरी फर्किए कलाकार

prasad 2

‘प्रसाद २’को टिम सुटिङ नै नगरि फर्किएको छ ।

छायांकनको लागि लोकेशनमा पुगेको फिल्म ‘प्रसाद २’ टिममा गञ्जागोल उत्पन्न भएको छ । मुख्य कलाकार र निर्माण टिमबीच समन्वय हुन नसक्दा छायांकन नै नगरी फिल्म युनिट काठमाडौं फर्किएको हो ।

बुधबार फिल्मको शुभ मूहूर्तसँगै छायांकन सुरु गर्ने सेड्युअल थियो । तर निर्देशक सुदर्शन थापाले ‘क्यामेरा अन’ गरेर ‘एक्सन कट’ बोल्ने समयमा सेटमा कलाकार नै उपस्थित नभएपछि फिल्मको छायांकन स्थगन भएको हो ।

निर्देशक थापाले भने, ‘सुटिङ सुरू हुनेवाला थियो, गूड मूड छैन, म तयार छैन भनेर कलाकारहरु तयार भएनन् ।’ कलाकारले काम सुरू गर्न मनाही गरेपछि अब निर्माता पनि म तयार छैन भन्ने कुरा आयो अनि काम अघि बढ्न सकेन।’

हरेक दिन ६० जनाको टिम पालेर दुई साता जस्तो वर्कसप र गाउँ भ्रमण गरेर कलाकारलाई तयार हुन समय दिँदा निर्माताको खर्च बढिरह्यो, अन्तिम समयमा कलाकारले भाँजो निकालेपछि काम हुने कुरा रहेन’, थापाले भने ।

श्रोतका अनुसार अभिनेता विपिन कार्कीले लफडा निकालेपछि फिल्मको छायांकन अन्यौल भएको हो । तर निर्माता र निर्देशकले कलाकार यो भनेर नाम लिन मानेनन् ।

‘विपिनले पटक पटक घर पुग्नु छ भन्ने, अभिनेत्री नम्रता श्रेष्ठले पुर्वप्रेमी रेमनदास श्रेष्ठको बिहेमा उपस्थित हुन छ भनेर हिड्ने, फिल्म खिच्न हो कि पिकनिक खान आएको हामी मेसो पाएनौं, एक टिममा सहभागीले भने । ‘बाबुराम’को भुमिका निभाएका विपिन र ‘नारायणी’को भुमिकामा रहेकी नम्रता यो फिल्मका मुख्य कलाकार हुन् ।

छायांकन सुरु नगरेर कलाकारहरु बुधबार नै काठमाडौं फर्केका छन् । निर्देशक थापाले अब आफ्नो फुर्सद हुँदा कलाकारहरुले फुर्सद छु भन्दा मात्रै फिल्मको काम अघि बढ्न सक्ने बताए । ‘तत्काललाई स्थगन हो, छायांकन जहिले पनि सुरु हुनसक्छ, म पनि फर्किसकेँ’, थापाले भने ।

सुभाष थापा प्रोडक्सनको ब्यानरमा बन्न लागेको फिल्म ‘प्रसाद’को सिक्वेल हो । ‘प्रसाद’लाई दिनेश राउतले निर्देशन गरेका थिए भने औपचारिक घोषणाको केहि समय पहिले मात्रै सुदर्शन थापा फिल्मको ‘क्याप्टेन’को रूपमा भित्रिएका थिए ।

यो फिल्मको घोषणा समयमा निर्माताको रूपमा मेडिकल व्यवसायी केशव पाण्डे भित्रिएका थिए । उता कोरोना आउनु पहिलेदेखि निर्माता सुभाष थापा फिल्मको तयारीमा निरन्तर जुटिरहेका थिए ।

फिल्मको वर्कसप र कलाकारलाई स्थानीय लवजमा अभ्यस्त बनाउन निर्माण घोषणा गरेसँगै कलाकार लिएर निर्माण टिम कास्कीको ल्वाङ गाउँमा पुगेको थियो ।

केहि दिन निर्माण टिमले बागलुङ जिल्लाको केहि गाउँ समेत भिजिट गरेको थियो । सेटमा पुगिसक्दा कलाकारबाट तीब्र असहयोग र अव्यवसायिक प्रवृत्तीका कारण निर्मातासमेत हच्किएका छन् ।