२३ बैशाख २०८१, आईतवार

तत्कालीन अर्थमन्त्री शर्माका विषयमा छानबिन गर्न गठित संसदीय समितिले काम शुरु गर्दै

FinanceMinister janardan Sharma

तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर हेरफेर गराएको आरोपबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले आजबाट औपचारिक रुपमा काम शुरु गर्दैछ ।

समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णको अध्यक्षतामा आज समितिको पहिलो बैठक बस्न लागेको हो । सिंहदरबारमा समितिको औपचारिक बैठक बस्ने सांसद कर्णले जानकारी दिनुभयो ।

समिति सचिव सुरेन्द्र अर्यालले आजको बैठकको एजेन्डा कार्यविधि निर्माण र सभापति चयन गर्ने रहेको जानकारी दिनुभयो । समितिलाई औपचारिक बैठक राखेर काम सुरु गरेपछि १० दिनभित्र प्रतिवेदन दिनुपर्ने कार्यादेश छ ।

संसदीय विशेष समितिमा सांसदहरु खगराज अधिकारी, देव गुरुङ, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, लक्ष्मणलाल कर्ण, शक्ति बस्नेत, सरला यादव, पुष्पा भुसाल, सीताराम महतो र सुरेन्द्र यादव हुनुहुन्छ ।

करको दर हेरफेर प्रकरणमा मुछिएपछि अर्थमन्त्री जनार्दन शर्माले असार २२ गते पदबाट राजीनामा दिनुभएको थियो । उहाँले राजनीतिक रुपमा आफूलाई बदनाम गर्न खोजिएको भन्दै छानबिन गर्न चुनौती दिँदै आउनुभएको छ ।

तर पछिल्लो समय करको दर परिवर्तनका लागि प्रधानमन्त्रीका छोरा जयवीरसिंह देउवा र प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठको समेत नाम मुछिएको समाचारहरु सार्वजनिक भएका छन् ।