१२ बैशाख २०८१, बुधबार

विभिन्न ६ खेलका १३ खेलाडीलाई प्रोत्साहन पुरस्कार

Rake

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले विभिन्न ६ खेलका १३ खेलाडीलाई सोमबार खेलाडी प्रोत्साहन पुरस्कार प्रदान गरेको छ ।

पारा तेक्वान्दोका ४, ब्याडमिन्टन र भलिबलका १–१, बक्सिङका ३, एथलेटिक्सका र ट्रायथलनका २–२ गरी १३ खेलाडीलाई जम्मा १० लाख ५० हजार नगद पुरस्कारसहित प्रशंसा पत्र प्रदान गरिएको हो ।

पारा ओलम्पियन तेक्वान्दोकी पलेशा गोबर्धन र ब्याडमिन्टनका प्रिन्स दाहालले समान १ लाख ५० हजार नगद पुरस्कार पाए । टोकियो पारा ओलम्पिकमा २ ‘बाउट’ जितेर इतिहास रचेकी पलेशाले एसियाली युथ पारा गेम्समा स्वर्ण जितेकी थिइन् । हाल विश्व जुनियर वरियताको सातौँ स्थानमा रहेका प्रिन्स केही महिनाअघि शीर्ष वरियतामा थिए ।

बक्सिङका नारिका राई, स्वस्तिका तिरुवा र छिरिङ शेर्पा र पारा तेक्वान्दोकी सिर्जना घिसिङले १–१ लाख नगद पाए । बक्सिङका तीनै जनाले युएइमा भएको एसियाली युथ तथा जुनियर बक्सिङ प्रतियोगितामा काँस्य पदक जितेका थिए । सिर्जनाले इरानमा भएको वल्र्ड प्रेसिडेन्ट कप च्याम्पियनसिपमा नेपाललाई रजत दिलाएकी थिइन् ।

एथलेटिक्सकी राजपुरा पछाईं र पुष्पा भणडारी, ट्रायथलनका सोनी गुरुङ र बसन्त थारु, पारा तेक्वान्दोका रञ्जना धामी र विशाल गर्बुजा तथा भलिबलकी अरुणा शाहीले ५०–५० हजार नगद पुरस्कार पाए । राजपुराले भारतमा भएको दक्षिण एसियाली क्रस कन्ट्री तथा पुष्पाले ढाका मयाराथनमा रजत जितेका थिए ।

पोखरामा भएको नवौं दक्षिण एसियाली ट्रायथलनमा सोनी र बसन्तले काँस्य पदक हासिल गरेका थिए । रञ्जनाले एसियाली खेलकुदको छनोट तथा विशालले युथ एसियन गेम्सको छनोटमा काँस्य हात पारेका थिए । एसियन सेन्ट्रल जोन महिला भलिबलमा नेपालले स्वर्ण जित्दा अरुणा टोलीकी कप्तान हुन् ।

उनीहरुलाई युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज, राखेप उपाध्यक्ष शिव कोइराला, राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, कार्यक्रम संयोजक एवं राखेपकी सदस्य चन्द्र बदना राईले एक कार्यक्रमबीच पुरस्कृत गरे ।