२० बैशाख २०८१, बिहीबार

आगामी चुनावमा दलहरुको ध्यान संगठनमा भन्दा गठबन्धनमै

gathabandhan
फाइल फोटो

स्थानीय तह निर्वाचनको समीक्षासँगै दलहरु प्रदेश र प्रतिनिधिसभाको आगामी चुनावमा जुटेका छन् । तर आआफ्नो दललाई जनसमक्ष पुर्याउने र सबै निर्वाचनमा उम्मेद्वार उठाएर एक्लै धेरै क्षेत्र जित्नेमा उनीहरुको ध्यान देखिन्न । बरु मुख्य दलहरुको ध्यान कसरी गठबन्धन बलियो बनाउने र सिट धेरै लिएर सत्तामा पुग्ने बाटो सुरक्षित राख्ने भन्नेछ ।

सत्तारुढ गठबन्धनका दलहरुले स्थानीय तह निर्वाचनमा एकले अर्कालाई मत नदिएका कारण मत कम आएको गुनासो गरिरहेका छन् । तर अहिले पनि गठबन्धन टुटाउने पक्षमा कोही देखिदैन ।

गठबन्धनभित्र अलि बढि गुनासो गरेको जनता समाजवादी र एकीकृत समाजवादी पार्टी समेत गठबन्धनबाट बाहिर जाने पक्षमा छैनन् । तर गठबन्धनको भविष्य निर्धारण भने मुल हिस्सेदार नेपाली कांग्रेस र माओवादी केन्द्रबीच हुने सिट बाँडफाँटले गर्ने देखिन्छ । माओवादी केन्द्रभित्र ४० प्रतिशतको हाराहारीमा सिट आफ्नो पक्षमा हुनुपर्ने आवाज उठेको छ ।

नेपाली कांग्रेसको दाउ अर्कै छ । प्रत्यक्ष र समानुपातिक गरी पार्टीलाई एकल बहुमतमा पुर्याउन सक्ने गरि प्रतिनिधिसभाका १सय ६५ मध्ये आधाभन्दा बढी क्षेत्र लिने रणनीति छ । यो गठबन्धन भने जोगाएरै जाने कांग्रेसको योजना छ ।

प्रमुख प्रतिपक्षी एमाले भने कुनै पनि हालतमा अहिलेको गठबन्धन फुटाउने प्रयासमा छ । गठबन्धन फुटाउन नसके त्यस मध्येको कुनै दललाई आफुतिर तान्ने र त्यो पनि नसकिएमा गठबन्धन बाहिर रहेका दलहरुसँग मिलेर गठबन्धन बनाउने बाटो एमालेले खुल्ला राखेको छ ।

लोकतान्त्रिक समावादी पार्टी लोसपा पनि एमाले वा सत्तारुढ गठबन्धन कोसँग सहकार्य गर्दा फाईदा हुन्छ भन्नेमा देखिन्छ ।खासमा मुख्य दलहरु आगामी चुनावमा आन्तरिक तयारी र आफ्नै संगठनको भरमा भन्दा पनि गठबन्धनकै च्याखे दाउमा छन् ।