२१ बैशाख २०८१, शुक्रबार

छलफल नगरी बहुमतबाट पास गरिँदै बजेट, सांसदलाई ह्वीप लगाउने रणनीति सुदूरपश्चिम प्रदेश सरकार

sudur pradsh shabha

सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष ०७९/०८० का लागि ल्याएको बजेटको चौतर्फी विरोध भएपछि बजेटमाथि छलफल सुरूनै हुन सकेको छैन । प्रदेश सरकारले ३० असारभित्रै बटेज पास गरिसक्नुपर्ने प्रावधान भए पनि हालसम्म बजेटमाथि छलफलका समेत सुरू नहुँदा सत्तापक्षकै सांसदहरूले आशंका गरेका छन् ।

२३ असारसम्म पनि बजेटमाथिको छलफल अगाडि नबढाएपछि प्रदेशसभा सदस्यहरू आशंकित भएका हुन् । ‘बजेटमाथि सत्तारुढ दलकै प्रदेशसभा सदस्यबाट प्रश्न उठेपछि सरकारले सम्बोधन गर्नुपर्ने हो,’ कार्यव्यवस्था तथा परामर्श समितिका सदस्य एवं सत्तारुढ दल नेपाली कांग्रेसका प्रदेशसभा सदस्य भरत खड्काले भने, ‘तर ती विषयमा सरकार केही बोलेको छैन, हालसम्म प्रदेशसभा सुरू गर्ने वातावरण पनि बनाएको छैन, यो शंकाको विषय हो ।’ 

उनले सिद्धान्त र नीति विपरित बजेट आएको भन्दै त्रुटिलाई सच्याउन सकिने बताए । तर, सरकारले त्रुटि ढाकछाेप गरी बोल्न समेत नचाहेको बताए । ‘म सत्तापक्षकै प्रदेशसभा सदस्य भए पनि गलत कुरालाई सही भन्न सक्दिन्,’ उनले भने, ‘यो सरकारले ल्याएको बजेट धेरै त्रुटिपूर्ण छ, नसच्याएर अगाडि बढ्न सकिने अवस्था छैन ।’

छलफल नगरी बहुमतले पारित गर्ने सरकारकाे तयारी

शत्तारुढ दलका एक जना प्रदेशसभा सदस्यका अनुसार सुदूरपश्चिम प्रदेश सरकारले बजेट छलफल नै नगरी अन्तिम समयमा बहुमतले पारित गर्ने तयारी गरेको छ ।

सत्तारुढ दलकै अधिकांश प्रदेशसभा सदस्यले बजेटमाथि प्रश्न उठाएका कारण बजेटमा छलफल गर्न नसकिने देखिएपछि सरकारमा आबद्ध दलमा ह्वीप लगाएर बजेट पास गर्ने योजना रहेको ती प्रदेशसभा सदस्यले बताए ।

‘अहिलेको बजेटमा गम्भीर त्रुटि छन्,’ ती प्रदेशसभा सदस्यले भने, ‘तर, त्यसलाई सुधार गरेर अघि बढ्ने रणनीतिमा प्रदेश सरकार छैन, आफ्ना सांसदलाई ह्वीप लगाएर बजेट पास गर्ने योजना शत्तारुढ दलले बनाएका छन् ।’

प्रदेशसभा बैठक बोलाउन सभामुख र सरकारकाे ध्यानाकर्षण

प्रदेशसभाको प्रमुख प्रतिपक्ष दल नेकपा एमाले संसदीय दलका नेता लिलाधर भट्टले तत्काल प्रदेशसभा बैठक बोलाउन सभामुख र सरकारका मन्त्रीकोे ध्यानाकर्षण गराइएको बताए ।

‘प्रतिपक्षसँगै सत्ता पक्षका प्रदेशसभा सदस्यले समेत बजेटको विरोध गरेका छन्,’ उनले भने, ‘यस विषयमा छलफल हुनुपर्छ, त्यसका लागि प्रदेशसभा बैठक बोलाउन हामीले मन्त्री र सभामुखको ध्यानकर्षण गराएका छौं ।’

उनले प्रदेशसभामा बजेट माथि छलफल अघि बढाएर त्रुटि सच्याइनु पर्ने बताए । ‘मन्त्रीमा अलिकति मानवियता छ भने बजेटमा समावेश कमजाेरीलाई सच्याएर अगाडि बढ्नुपर्ने हो,’ उनले भने,  ‘तर गलत मनसाय हो भने हामी पनि त्यसैअनुसार अघि बढ्ने छौं ।’

उनले बहुमतको दम्भ देखाएर बजेटलाई पास गर्ने योजना अनुसार प्रदेश सरकार अघि बढेको आरोप लगाए । ‘यो सरकारले बहुमतको आडमा नीति र सिद्धान्त विपरित ल्याएको बजेट पास गर्ने  षडयन्त्र गरिरहेको छ,’ संसदीय दलका नेता भट्टले भने, ‘त्यो भनेको प्रदेशसभा सदस्यको अपमान हो, सदनलाई छलेर पास हुने योजना कार्यान्वयन गर्न समस्या हुन सक्छ ।’

असार सकिनै लाग्दासम्म पनि प्रदेशसभा बैठक आह्वान नगरेर सरकार निरंकुश सैलीमाअघि बढ्न खाेजेको उनको आरोप छ । ‘यो सरकारले ल्याएको बजेटमा सत्तारुढ दलकै सांसदले चर्को विरोध गरेका छन्,’ भट्टले भने, ‘उनीहरूको सम्मानका लागि पनि प्रदेशसभामा बजेटमाथि छलफल हुनुपर्ने हो, तर अब समय पनि छैन, छोटो समयमा छलफल गर्न सम्भव पनि छैन ।’

प्रदेशसभा सदस्य भरत खड्का ह्वीप जारी गरेर बजेट पास गर्दा गलत नजिर बस्ने बताउँछन् । ‘यो सरकारसँग दुई तिहाई मत छ, आफ्ना सांसदलाई ह्वीप लगाएर बजेट पास गर्न पनि सक्ला,’ प्रदेशसभा सदस्य खड्काले भने, ‘तर त्यसको असर राम्रो हुँदैन, आगामी दिनमा पनि यही सिस्टम बस्न सक्छ, प्रदेशसभाको गरिमालाई बचाउन पनि सरकारले ह्वीप लगाउन हुँदैन ।’

१ असारमा प्रदेशसभामा प्रस्तुत बजेटमाथि छलफल गर्न भन्दै तीन पटक प्रदेशसभा बैठक बोलाए पनि सत्तारुढ दलकै असहमतिका कारण तीन वटै वैठक स्थगित भएका छन् । सुदूरपश्चिम प्रदेशका सभामुख अर्जुनबहादुर थापाले ८ असारमा कार्य व्यवस्था तथा परामर्श समितिको बैठक बोलाएर प्रदेशसभा सदस्यको धारणा मागेका थिए ।

तर, अधिकांस प्रदेशसभा सदस्यले बजेटको विरोध गरेका थिए । प्रदेशसभा सदस्यको विरोधपछि ८ असारमा बोलाइएको बैठक पनि स्थिगित गरिएको थियो । यसैगरी १२ असारमा बोलाइएको बैठक पनि प्रदेशसभा सदस्यकै असन्तुष्टिका कारण स्थिगित भएको थियो ।

सभामुख थापाले १६ असारका लागि तेस्राे पटक प्रदेशसभा बैठक आह्वान गरेका थिए । तर, १६ असार बिहान बसेको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकमा अधिकांस प्रदेशसभा सदस्यहले बजेटको विरोध गरेपछि सो दिनका लागि बोलाएको बैठक अनिश्चितकालका लागि स्थिगित गरिएको सूचना टाँसिएको थियो ।