२१ बैशाख २०८१, शुक्रबार

उच्च राजनीतिक संस्कार देखाउनुभयो जनार्दन शर्माले: प्रचण्ड

cc prachanda1656831002
फाइल फोटो

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नैतिकताको खडेरी परिरहेको देशको राजनीतिमा प्रश्न उठेपछि राजीनामा दिएर अर्थमन्त्री जनार्दन शर्माले उच्च राजनीतिक संस्कार देखाएको बताउनुभएको छ ।

काठमाण्डौमा चलिरहेको केन्द्रीय समितिको बैठकमा सदस्यहरूले उठाएका प्रश्नको जिज्ञासाको जवाफ दिँदै उहाँले माओवादीले मात्रै नेपाली राजनीतिमा नैतिकताको संस्कार र त्याग पनि हुन्छ भन्ने विषयको सञ्चारसमेत भएको बताउनुभयो ।

अर्थमन्त्रीका रूपमा नेता शर्माले कुनै गलत काम नगरेको स्पष्ट पार्दै अध्यक्ष दाहालले बजेटमा समावेश भएका कतिपय प्रगतिशील विषय केही मानिसलाई मन नपरेको उल्लेख गर्नुभयो ।

उहाँले वर्तमान सरकार र गठबन्धन बनेदेखि नै यसलाई टुटाउनका लागि अनेकन प्रयास भइरहेको तथ्य पेस गर्दै अर्थमन्त्रीको मानमर्दन गरिनु पनि त्यसैको निरन्तरता भएको अर्थ्याउनुभयो ।

‘अर्थमन्त्रीले आफूले कुनै पनि गलत काम नगरेको भनेर पटक–पटक प्रष्टीकरण दिँदै आउनुभएको र बुधवार संसदमा आफ्नो कुरा स्पष्टसँग राखेर राजीनामा दिनुभएको छ, यसले त्याग र नैतिकताको सन्देश गएको छ’, अध्यक्ष दाहालले भन्नुभयो ।

बजेट निर्माणको अन्तिम दिन अनधिकृत मानिसलाई प्रवेश गराएको लगायतका विषयमा प्रश्न उठेपछि अर्थमन्त्री शर्माले राजीनामा दिनुभएको थियो । त्यस सम्बन्धमा छानबिनका लागि प्रतिनिधि सभाले ११ सदस्यीय समिति गठन गरेको छ ।

अनावश्यक विषयलाई उचालेर माओवादी नेतृत्वको मानमर्दन गर्ने र गठबन्धन धरापमा पार्न सकिन्छ कि भन्ने ध्येयका साथ केहीले गलत राजनीति गर्न खोजे पनि उनीहरू परास्त भएको अध्यक्ष दाहालको भनाइ छ ।

यही असार १९ गते आइतवारदेखि सुरु भएको केन्द्रीय समितिकोबैठकमा त्यही दिन र सोमवार केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राखेका थिए । बैठकमा अध्यक्ष दाहालले १० पेज लामो राजनीतिक प्रतिवेदन पेस गर्नुभएको थियो ।