२० बैशाख २०८१, बिहीबार

निवर्तमान अर्थमन्त्री शर्मामाथि छानबिन गर्न गठित संसदीय समितले आजैदेखि काम थाल्दै

Laxman Lal Karna

बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय समितले काम थाल्दैछ ।

ज्येष्ठ सदस्य लक्ष्मणलाल कर्णको अध्यक्षतामा बस्ने पहिलो बैठकले आज समितिको संयोजक चुनेर कार्यविधि तय गर्नेछ ।

त्यसका लागि आजै बैठक बस्नेछ । तर समय भने निर्धारण भइ नसकेको कर्णले जानकारी दिनुभयो ।

समितिलाई बजेटमा करका दर हेरफेर गर्ने सम्बन्धमा अनधिकृत व्यक्ति प्रवेश गरेको भनी संसदमा उठेको विषयमा छनबिन गर्ने अधिकार प्रत्यायोजन गरिएको छ । समितिलाई १० दिनभित्र प्रतिनिधि सभामा प्रतिवेदन पेश गर्ने कार्यादेश छ ।

समितिमा एमालेका ४, नेपाली कांग्रेस र माओवादी केन्द्रका २–२ जना, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका एक–एक जना गरी ११ जना सदस्य छन् ।