११ बैशाख २०८१, मंगलवार

सीमा सुरक्षाका लागि सशस्त्र र नेपाल प्रहरी दार्चुलामा

nepal army helicopter

भारतले सीमा अतिक्रमण जारी राखेको बेला दार्चुलाको छाङरुमा सशस्त्र प्रहरी इन्सपेक्टरको नेतृत्वमा २५ जनाको टोली आज खटाइँदै छ । सीतापुरमा रहेको सई नेतृत्वको नेपाल प्रहरीको टोलीलाई पनि छाङरूमा लगिँदै छ । छाङरू भारतले अतिक्रमण गरेको नेपाली भूमि लिपुलेकभन्दा करिब १०–१२ किलोमिटर वरै पर्दछ ।

कालापानी हुँदै लिपुलेक क्षेत्रमा भारतले एकतर्फी सडक बनाएर गत शुक्रबार उद्घाटन गरेपछि त्यस क्षेत्रको सीमा सुरक्षाका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत सशस्त्र र नेपाली प्रहरीको टोली जाने भएको छ । बुधबार दार्चुलाको व्यास गाउँपालिका–१ छाङ्गरु गागामा सीमा निगरानीका लागि सशस्त्र प्रहरी जान लागेको सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्म दार्चुलाले जनाएको छ । सशस्त्र प्रहरीको टोलीलाई सेनाको हेलिकोप्टरले छाङ्गरु पु-याउने छ ।

चार दिनअघि शुक्रबार भारतको पिथौरागढबाट नेपालको कालापानीस्थित गुञ्जी हुँदै चीनको मानसरोवर जाने लिपुलेकसम्मको सडक निर्माण गरी भारतले उद्घाटन गरेपछि यसको सर्वत्र विरोध भइरहेको छ । दार्चुलाको व्यास गाउँपालिकामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट राख्न सशस्त्र प्रहरी निरीक्षकको कमाण्डरमा २५ सशस्त्र प्रहरी खटाइने जनाइएको छ । सशस्त्र प्रहरी बल नेपाल ५० नं गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक डम्बरबहादुर विष्टका अनुसार प्रहरी निरीक्षक मिलीबहादुर चन्दको नेतृत्वमा टोली पठाउने तयारी गरिएको छ ।

टोलीका लागि आवश्यक पर्ने बन्दोबस्तीका सामग्री तयारीमा गुल्मका टोली खटिएको उनले बताए । स्थानीय व्यक्तिको घर भाडामा लिएर बिओपी बस्ने तयारी छ । छाङ्गरुमा ११० घरधुरी रहेको छ । सरकारले गत मङ्सिरमा नै यहाँ बिओपी राख्ने निर्णय गरेको थियो ।

सशस्त्र प्रहरीले रिर्जभ गरेको हेलिकोप्टरमा नेपाल प्रहरी पनि सँगै पठाउने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए । नेपाल प्रहरी विगतमा पनि छाङ्गरुको गागामा बस्दै आएको छ । सशस्त्र प्रहरीलाई व्यासमा बाह्रैमास राख्ने गरी बिओपी स्थापना गर्न लागिएको हो । हेलिकोप्टरमार्फत मेडिकल उपकरण, हातहतियार र जनशक्तिलाई पठाउने तयारी छ । समुद्री सतहबाट तीन हजार ६०० मिटर उचाइमा रहेको छाङ्गरुमा बाह्रैमास सशस्त्र प्रहरीको उपस्थिति गराउने सरकारको तयारी छ । कालापानी चार हजार २०० मिटर उचाइ र त्यसभन्दा माथि लिपुलेक, लिम्पियाधुरा करिब पाँच हजार मिटरको उचाइमा पर्छ ।

भारतले नेपालको भूमि अतिक्रमण गरेको विषय पटक–पटक उठे पनि भारतीय सीमाको सबैभन्दा नजिकको विन्दुमा नेपाली सुरक्षाकर्मी तैनाथ गर्न लागेको हो । छाङ्गरुबाट कालापानी १२ किलोमिटरको दूरीमा छ भने कौवाक्षेत्र छाङ्गरुदेखि झण्डै पाँच किलोमिटरको दूरीमा पर्छ । यस्तै छाङ्गरुबाट लिपुलेक १७ किलोमिटरको दूरीमा छ ।

गत फागुन पहिलो साता नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सशस्त्र प्रहरीको बिओपीस्थलको हवाई निरीक्षण गरेका थिए भने गत चैत पहिलो साता सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्म हेडक्वार्टर दार्चुलाका प्रहरी नायब उपरीक्षक डम्मरबहादुर विष्ट नेतृत्वको टोली स्थलगत निरीक्षण गरेका थिए ।

सशस्त्र प्रहरीको छाङ्गरुको गागामा रहे पनि अहिले नेपालीको पहुँच रहेको कौवा क्षेत्रसम्म नियमित एलआरपी गस्ती हुन सक्नेछ । व्यासको छाङ्गरु गागामा सशस्त्र प्रहरीको बिओपी राख्न स्थानीयवासीले जमिनसमेत उपलब्ध गराएका छन् । स्थानीयले गागामा कित्ता नं ३५ को ११५ रोपनी तीन आना जग्गामध्ये १५ रोपनी जमिन सशस्त्र प्रहरीलाई दिइसकेको छ भने सरकारले व्यासमा बिओपी स्थापना र निर्माणका लागि रु ११ करोड बजेट विनियोजन गरेको छ ।

यस्तै सशस्त्र प्रहरी पु(याउने हेलिकोप्टरमा नौ जना नेपाल प्रहरी पनि जाने भएका छन् । छाङ्गरुमा रहने नेपाल प्रहरीलाई हेलिकोप्टरमार्फत पठाइन लागेको हो । नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक ९सई० हर्कसिंह महताको नेतृत्वमा टोली खटाउन लागिएको हो ।

अहिले व्यास गाउँपालिका–१ छाङ्गरु र तिङ्करमा रहेका प्रहरी व्यास गाउँपालिका–२ दुम्लिङमा सारिएको छ । सशस्त्र प्रहरी हेलिकोप्टरमार्फत जाने भएपछि गागामै रहेको नेपाल प्रहरीलाई सशस्त्रसँगै पठाइन लागेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक पदमबहादुर विष्टले बताए । तिङ्कर क्षेत्रको प्रहरी भने बाटो खुलेपछि पठाउने तयारीमा रहेको बताइएको छ ।

छाङरुमा बिओपी राख्न काठमाडौँबाट टोली प्रस्थान

लिपुलेक आसपासको सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बलको टोली तैनाथ गर्न काठमाडौँबाट आज टोली त्यसतर्फ प्रस्थान गरेको छ । दार्चुलाको व्यास गाउँपालिका–१ स्थित छाङरुमा सीमा निगरानी चौकी (बिओपी) स्थापनाका लागि काठमाडौँबाट टोली त्यसतर्फ गएको हो ।

भारतले एकतर्फी सडक बनाएर उद्घाटन गरेपछि त्यस क्षेत्रको सीमा सुरक्षाका लागि आज नेपाली सेनाको हेलिकोप्टरमा सशस्त्र प्रहरीको टोली पठाइँदै छ । आज नेपाली सेनाको एमआई–१७ हेलिकोप्टर त्यहाँ टोली पु¥याउने छ । केही दिनअघि भारतको पिथौरागढबाट नेपालको कालापानीस्थित गुञ्जी हुँदै चीनको मानसरोवर जाने लिपुभञ्याङसम्मको सडक निर्माण गरी भारतले उद्घाटन गरेको थियो । सीमारक्षाका लागि सरकारले तत्कालै त्यस क्षेत्रमा सशस्त्रको टोली पठाउन लागेको हो ।

सीमा निगरानी चौकीमा २५ जना सशस्त्र प्रहरी खटाइने जनाइएको छ । सशस्त्र प्रहरी बल नेपाल ५० नं गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक डम्बरबहादुर विष्टका अनुसार प्रहरी निरीक्षक मिलीबहादुर चन्दको नेतृत्वमा २५ जनाको टोली आज त्यसतर्फ गएको छ । सरकारले गत मङ्सिरमा नै यहाँ बिओपी राख्ने निर्णय गरेको भएपनि अहिलेसम्म स्थापना हुनसकेको थिएन ।

तत्कालीन अवस्थामा सीमा क्षेत्रमा सशस्त्र प्रहरीको १०७ बिओपी थियो । मङ्सिरमा सरकारले ११४ बिओपी स्थापना गर्ने निर्णय गरेको थियो । त्यसपछि जम्मा १३ स्थानमा मात्रै बिओपी स्थापना भएको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता प्रहरी नायब महानिरीक्षक प्रविणकुमार श्रेष्ठले जानकारी दिए ।

रासस