२२ बैशाख २०८१, शनिबार

सत्ता बाहेक अरुमा ध्यानै छैन् भन्ने फेरि पुष्टि ?

baburam bhattarai and upendra yadav

सरकारमा मन्त्री फेरबदलसँगै अहिलेलाई जसपाको समिकरण फेरिएको छ। तर जसपाको मन्त्री फेरबदलले प्रधानमन्त्री शेरबहादुर देउवालाई सत्ता बाहेक अरुमा ध्यानै छैन् भन्ने फेरि पुष्टि गरेको छ ।

जसपाको विवाद भुसको आगो जस्तै बन्दै गैरहेका बेला अध्यक्ष उपेन्द्र यादवले सरकारमा सामेल चार मध्ये तीन मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई पठाए ।

नयाँ मन्त्री बनेका तीनैजना आफ्नो कित्तामा आएपछि यादव पार्टीमा थप बलियो भएका छन् भने संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई पक्ष पार्टीमा कमजोर ।

आफ्नै समुहका नेताहरु यादव पक्षमा गएपछि भट्टराईले नयाँ मन्त्रीलाई शपथ नगराउन प्रधानमन्त्रीलाई गरेको आग्रहको पनि सुनुवाई भएन ।

यो त जसपाको आन्तरिक कुरा भयो । तर प्रधानमन्त्री देउवालाई आफ्नो सत्ता टिकाउनमा मात्रै चासो छ भन्ने यो पटक पनि देखियो । मुलुक चुनावमा जुटिसकेको छ ।

निर्वाचन आयोगले छिटो मिति माग्दा पनि वास्ता नगरेका प्रधानमन्त्रीले जसपाको स्वार्थ पुरा गर्न र आफ्नो पद जोगाउन भने तत्काल तयार भए । उनले एकीकृत समाजवादीको स्वार्थ पुरा गर्न अघिल्लो साता मन्त्री हेरफेर गरिदिएका थिए ।

दलभित्रको आन्तरिक किचलो व्यवस्थापनका लागि पटक पटक मन्त्री परिवर्तन गर्ने प्रधानमन्त्री सार्वजनिक रुपमै आलोचित मन्त्रीहरु हटाउन भने तयार देखिन्नन ।

जबकि त्यसले सरकारलाई नै बदनाम बनाइरहेको छ। प्रधानमन्त्री देउवाले सत्ता जोगाउन मात्रै ध्यान दिँदा महंगी, भ्रष्टाचार, आर्थिक संकट झन् गहिरिन थालेका छन् ।