२३ बैशाख २०८१, आईतवार

यतिका महिना बितिसक्दा किन सकिरहेको छैन माओवादीले पदाधिकारी छान्न ?

Maobadi baithak

महाधिवेशनको ६ महिनामा पनि नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिलाई समेत पूर्णता दिन सकेको छैन भने पदाधिकारी पनि टुंगो लगाउन सकेन ।

महाधिवेशनले नेतृत्व चयन नगरी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नै जिम्मा दिएको माओवादीभित्र पदाधिकारी बन्ने आकांक्षी धेरै छन् । यतिका महिना बितिसक्दा पदाधिकारी, स्थायी समिति, पोलिट्व्यूरो र केन्द्रीय समितिको पूर्णता अलमलमै छ ।

माओवादी केन्द्रको आइतबारदेखि शुरु केन्द्रीय समिति बैठकमा सरल सहयात्रीले रोइकराई गरेकै आधारमा केन्द्रीय सदस्य बन्ने अवस्था आएको भन्दै नेतृत्वको आलोचना गर्नुभयो ।

अध्यक्ष प्रचण्डसँग चाकडी र चाप्लुसी गरेकै आधारमा योग्यता नहेरी केन्द्रीय सदस्य बनाउने र पदाधिकारी पनि त्यस्तै आधारमा टुंग्याउने नियतमाथि सहयात्रीको व्यंग्य थियो ।

के माओवादी केन्द्रमा राम्राभन्दा हाम्रालाई मात्र मौका हो ? यो प्रश्नको उत्तर खोज्दैछन्, केन्द्रीय सदस्यहरु केन्द्रीय समिति बैठकमा ।

आइतबारदेखि शुरु बैठकमा अध्यक्ष प्रचण्डले पेश गरेको ९ वटा एजेण्डामा पदाधिकारी, स्थायी समिति, पोलिट्व्यूरो र केन्द्रीय समितिको पूर्णता परेको थिएन ।

संगठनात्मक विषय भनिएपनि यो केन्द्रीय समिति बैठक पार्टीका विभिन्न संरचनाको पूर्णता समावेश नहुनेभएपछि माओवादी केन्द्रीय सदस्यहरुले पदाधिकारीसहित सबै निकायको पूर्णता मागे ।

महाधिवेशनले २ सय ९९ केन्द्रीय समिति रहने व्यवस्था गरेको भएपनि अहिलेसम्म २ सय ४६ सदस्यीय केन्द्रीय समिति मात्र चयन गरिएको छ ।

पदाधिकारी चयनमा सकस हुँदा पटक–पटक बैठक सर्दै आएको थियो । आठ दिनसम्म चलेको आठौं राष्ट्रिय महाधिवेशनबाट पदाधिकारी चयन गर्न नसकेको माओवादी ६ महिनासम्म अलमलमै छ ।

महाधिवेशन लगत्तै नयाँ टिम बनाउनु पर्ने भएपनि बैठक बस्न नेतृत्वहरुले चासो नै नराख्दा समय लम्बिदै गएको थियो । तर यो बैठकले पार्टीलाईको पूर्ण नेृतत्व आउने नेताहरुको दाबी छ ।

वरिष्ठ उपाध्यक्ष, महासिचवसहित १५ जना पदाधिकारी चयनको जिम्मा प्रचण्डलाई नै छ । अध्यक्षपछिको शक्तिशाली मानिएको महासचिवमा पनि नेताहरुको हानाथाप मात्र छैन, अध्यक्ष प्रचण्डलाई फकाउने क्रम जारी छ ।

पदाधिकारी सर्वसम्मत गर्नेगरी तयारी भएपनि असन्तुष्ट समुह बढ्दै गएको छ । पार्टीलाई प्राइभेट लिमिटेडका रुपमा लैजान खोजेको भन्दै माओवादी केन्द्रभित्रै चर्चा हुने गरेको छ । प्रतिष्पर्धी दलकारुपमा स्थापित गर्ने हो भने माओवादी केन्द्रले विधि र पद्धति अंगिकार गर्नुपर्छ ।