२१ बैशाख २०८१, शुक्रबार

ओलीद्वारा कृषि मन्त्री यादवकाे राजीनामा माग, सरकारविरुद्ध आन्दोलन गर्न किसान महासंघलाई कडा निर्देशन

KP Sharma Oli 69
फाइल फोटो

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कृषि तथा पशुपंक्षी विकासमन्त्री महिन्द्रराय यादवको राजीनामा माग गर्नु भएको छ ।

पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले अन्य देशमा समयमा किसानलाई मल दिन नसकेपछि कृषिमन्त्रीले राजीनामा दिने गरेको दृष्टान्त उल्लेख गर्दै के हेरेर बसेको भनी कृषिमन्त्री यादवलाई प्रश्न समेत गर्नुभयो ।

उहाँले मलको तत्काल व्यवस्था गर्न बाध्य हुने गरी सरकारविरुद्ध आन्दोलन गर्न पनि पार्टी निकट अखिल नेपाल किसान महासंघलाई कडा निर्देशन दिनुभयो ।

महासंघले शनिबार च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले किसानले मल नपाईरहेका बेला चुप लागेर बसेको भन्दै महासंघका नेता, कार्यकर्ताप्रति आक्रोश समेत व्यक्त गर्नुभयो ।

उहाँले किसानसँग सरोकार राख्ने हरेक विषयमा महासंघले सरकारलाई बुझ्ने भाषामा दवाव दिनुपर्नेतर्फ सचेत गराउनुभयो ।

अध्यक्ष ओलीले आफूले सरकार छोडेको एक वर्षमै ४९ अर्व चामल आयात गरेको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गर्नु भयो । उहाँले कृषि प्रदान देशमा, उर्वर जमिन भएको देशमा एक वर्षमा ठूलो परिणाममा चामल आयात गर्नु अशोभनीय भएको बताउनुभयो ।

अध्यक्ष ओलीले ६० प्रतिशतभन्दा बढि जनसंख्या कृषिमा आधारित भएको देशमा हामी किन खाद्यन्नमा आत्मनिर्भर हुन नसकेको भनि सरकारलाई प्रश्न समेत गर्नुभयो ।

अध्यक्ष ओलीले सरकारले कृषि क्षेत्रको उत्थान हुने गरी केही पनि काम गर्न नसकेको आरोप समेत गर्नुभयो ।