१४ बैशाख २०८१, शुक्रबार

पूर्वअर्थमन्त्री डा. खतिवडाको नेपालको अर्थतन्त्रको अवस्थाबारे यस्तो टिप्पणी

yubraj khatiwada
फाइल फोटो

पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको अर्थतन्त्रको अवस्था श्रीलंकाकै जस्तो नभए पनि सरकारले सुधारको लक्षण नदेखाउँदा थप चिन्ता बढेको बताउनुभएको छ।

राजधानीमा आज भएको अर्थतन्त्रको वर्तमान अवस्था र आगामी वर्षको बजेट माथिको छलफल कार्यक्रममा पूर्वमन्त्री खतिवडाले सरकारले अर्थतन्त्रमा देखिएको संकट हल गर्ने भन्दा पनि तमासा हेरेर बसेकाले कतै श्रीलंका नै बन्ने हो की भन्ने मनोवैज्ञानिक त्रास बढेको बताउनुभयो ।

वास्तवमै अर्थतन्त्रको अवस्था राम्रो नभएको भन्दै उहाँले बोल्ने भन्दा पनि संयमता अपनाउन आवश्यक रहेको बताउनुभयो ।

खतिवडाले आगामी वर्षको बजेटमा मनमा आएका सबै कुराहरु राखेको भन्दै आलोचना समेत गर्नुभयो । असम्भव र नमिल्दा कुराहरु राखेर बजेट लोकप्रिय बनाउन खोजेको भन्दै ८ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न, मूल्यवृद्धि ७ प्रतिशतको सीमाभित्र राख्न र पाँच वर्षमा व्यापार सन्तुलन कायम गरेर देखाउन चुनौती दिनुभयो ।

यस्तै नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठले बाह्य क्षेत्र, मूल्य वृद्धि र बैंक तथा वित्तीय संस्थाको व्याजदर वृद्धिले अर्थतन्त्रमा समस्या सृजना गरेको भन्दै अर्थतन्त्रमा देखिएको संकट तत्काल हल हुने सम्भावना नरहेको प्रष्ट पार्नुभयो ।

अर्थशास्त्रीहरु डा. गोविन्द नेपाल र डा. दिलनाथ दंगालले वित्तीय क्षेत्र, मौद्रिक क्षेत्र, बाह्य क्षेत्र र आर्थिक वृद्धि एकै पटक चार क्षेत्र ओरालो लाग्नु गम्भीर भए पनि सुधारका लागि सरकार खासै गम्भीर नबनेको आरोप लगाउनुभयो ।