६ बैशाख २०८१, बिहीबार

चर्चा भएजत्तिको आर्थिक संकट छैन, साँढे ६ महिनालाई वैदेशिक आयात धान्ने मुद्रा छ : उपमहासचिव डा पौडेल

Vijaya Poudel

सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी) उपमहासचिव डा विजय पौडेलले सरकारसँग अझै साँढे ६ महिनालाई वैदेशिक आयात धान्न सक्ने रकम भएको दाबी गर्नुभएको छ ।

सोमबार पार्टी केन्द्रीय कार्यालय नयाँ बानेश्वरमा युवा संघ नेपालले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै उपमहासचिव पौडेलले यस्तो बताउनुभएको हो ।

उहाँले नेपालमा चर्चा भएजत्तिको आर्थिक संकट नभएको पनि बताउनुभयो । उपमहासचिव पौडेलले रकम बढी परिचालनमा ल्याउनको लागि अहिले उद्योग व्यवसायमा केही व्यवसायीहरुले तिर्न नसकेको ऋणलाई पुनः पूँजीकरणको सुविधा दिनुपर्ने बताउनुभयो ।

उहाँले ऋणमा रहेका व्यवसायीहरुलाई सरकारले पुनः पूँजीकरणको सुविधा दिँदा व्यापारीहरु पनि कालो सूची (ब्ल्याक लिस्ट) मा नपर्ने र काम पनि हुने बताउनुभयो । उपमहासचिव पौडेलले विदेशमा भएका सबै नेपालीहरुलाई आफूले जम्मा पारेको पूँजी नेपालमा डलरमा पठाउन आह्वान गरेपनि आर्थिक संंकटको समाधान हुने बताउनुभयो ।

उपमहासचिव पौडेलले भन्नुभयो, ‘पैसा बढी परिचालनमा ल्याउनका लागि अहिले उद्योग व्यवसायमा जो ऋण तिर्न नसकेको मानिसहरु छन्, त्यो सबै ऋणलाई रिक्पाइलाइज गरिदिने हो भने, बैंकको खातामा पनि हिसाब आउँछ । उद्योगीहरु पनि ब्ल्याकलिस्टमा पर्दैनन् । काम गर्न पाउँछन्, जसले गर्दा व्यवसाय सुचारु हुन्छ । तत्काल गर्न सकिने भनेको सबै उद्योग, व्यवसायीहरुको ऋण, जसले तिर्न नसकेको छ, उनीहरुलाई पुनः पूँजीकरणको सुविधा दिने काम गर्न सकिन्छ ।

अर्को भनेको सरकारले विदेशमा भएका सबै नेपालीलाई सानो आह्वान गरेमा आफूले आजसम्म खाएको तलब डलरमा छिटो देशमा पठाउनुस् भन्ने हो भने त्यसबाट पर्याप्त पैसा आउँछ । अहिले पनि साँढे ६ महिनालाई वैदेशिक आयात धान्न सक्ने पैसा छ । भनेजस्तो कडा शंकट छैन । विदेशमा आफन्त भएकाहरुलाई श्रोत नखोजि ५/७ सय डलर बैंकमा जम्मा गर्न लगाउने हो भने राष्ट्रको शंकट हट्छ ।’

उपमहासचिव पौडेलले विदेशमा आफन्त भएका परिवारहरुलाई स्राेत नखोजि ५/७ सय डलर बैंकमा जम्मा गर्न लगाउने हो भने राष्ट्रको संकट हट्ने बताउनुभयो।