७ बैशाख २०८१, शुक्रबार

फस्नु हाेला है : यसरी हुन्छ अनलाइन ठगी

thagi

नयाँ प्रविधिको बढ्दो प्रयोगसँगै सामाजिक सञ्जाल दुरुपयोगका घटनाहरु पनि बढेका छन् । सामाजिक सञ्जाल र विभिन्न अनलाइनमार्फत नेपालबाट सात वर्षमा १२ करोडभन्दा बढी रकम ठगी भएको तथ्यांक छ ।

यसमा ठगको परिचय पत्ता लगाउन निक्कै कठिन हुने हुँदा पीडितले पैसा फिर्ता पाउने सम्भावना निक्कै कम हुन्छ । अनलाइन ठगीको मुख्य नाइके नेपालबाहिर रहने भएकाले उनीहरुलाई पक्रन चुनौतिपूर्ण हुने गरेको छ ।

नेपालमा अनलाइन ठगीका घटना बर्सेनि वर्ष बढ्दै गएको केन्द्रीय अनुसन्धान व्यूरो सीआइबीको तथ्याङ्कले देखाएको छ । सामाजिक सञ्जालहरु फेसबुक, ह्वाटस्एप, इमेलको मध्यमबाट नेपाली ठगीको शिकार बन्ने गरेका छन् । आर्थिक वर्ष २०७२–०७३ सीआइबीमा मात्रै २ वटा उजुरी परेको थियो ।

आर्थिक वर्ष २०७३–०७४ मा २ वटा, २०७४–०७५ मा २९ वटा, २०७५–०७६ मा २० वटा, २०७६–०७७ मा १० वटा, २०७७–०७८ मा २६ वटा र चालु आर्थिक वर्षको असार १६ गतेसम्म ४० वटा उजुरी परेका छन् । यसबाहेक प्रहरीका विभिन्न निकायमा पनि अनलाइन ठगीको मुद्दा दर्ताको संख्या बढ्दै गएको छ । वितेको ७ वर्षमा सीआइबीमा परेका १२९ उजुरी मध्ये ३० वटा मात्रै फछ्र्यौट भएका छन् । बाँकी ९९ उजुरीमा भने ब्युरोले सफलता हाँसिल गर्न सकेको छैन ।

ठगीका मुख्य नाइके विदेशमा रहने भएकाले सिआइबीलाई समेत अनुसन्धनमा कठिनाइ छ । विदेशबाट नेपालीलाई मध्यस्तकर्ताका रुपमा प्रयोग गर्ने र उनीहरुमार्फत आर्थिक संकलन गर्ने गरेको सिआइबीको तथ्याङ्क छ । जसले गर्दा मुख्य ठग को हो ? भनेर थाहा पाउन समस्या हुने गरेको छ ।

सिआइबीको अनुसन्धानबाट नेपालमा विभिन्न प्रलोभन देखाएर सामाजिक सञ्जालमा साथी बनाउने र उनीहरुले बैंकलाई नै प्रयोग गरेर ठगी गर्ने गरेको पाइएको छ । त्यहाँबाट संकलन भएको पैसा हुण्डीबाट पठाइने भएकाले कसलाई पठाइन्छ भन्ने पनि थाहा हुँदैन । त्यसैले अनलाइनबाट हुने ठगीको पैसा फिर्ता पाउन निक्क कठिन हुने सिआइबीको भनाइ छ ।

सीआइबीको तथ्याङ्क वितेको ७ वर्षमा १२ करोड ५० लाख ७८ हजार ८६४ रुपैयाँ ठगी गरेको उजुरी परेको छ । जसमध्ये दुई करोड २८ लाख ६३ हजार ७३७ रुपैयाँ मात्रै पीडितले पाएका छन् बाँकी रहेको १० करोड २२ लाख १५ हजार १२७ रुपैयाँ अझै फछर्यौट हुन सकेको छैन ।

यस्तो ठगी मुद्दाको हद म्याद १ वर्ष मात्रै हुने हुँदा ठगिएको रकम फिर्ता पाउने सम्भावना न्यून हुन्छ । त्यसैले नचिनेका मानिस, छोटो समयमा नै अनलाइनबाट लाभ लिने अभिलासा, विभिन्न प्रलोभनमा नलाग्नु नै अनलाइनबाट हुने ठगीबाट बच्ने अचुक उपाय हो ।