१६ चैत्र २०८०, शुक्रबार

सोधपुछपछि प्रियंका कार्की जिम्मा–जमानीमा रिहा

priyanka karki

क्रिप्टोकरेन्सी प्रचारमा संलग्न रहेको भन्दै सोधपुछका लागि बोलाइएको अभिनेत्री प्रियंका कार्कीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०ले रिहा गरेको छ । कार्कीलाई जिम्मा–जमानीमा रिहा गरेको छ ।

नेपालमा अबैध रहेको क्रिप्टोकरेन्सीको विवादमा परेपछि कार्कीलाई त्यसबारे सोधपुछ गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले प्रियंकालाई कार्यालयमा बोलाएको थियो ।

सीआईबी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) धीरजप्रताप सिंह अनुसार क्रिप्टोकरेन्सीको विज्ञापनमा तस्बिर उल्लेख भएको विषयमा कार्कीलाई सोधपुछ गरिएको र सोधपुछपछि जिम्मा–जमानीमा छाडिएको हो ।

‘उनको फेसबुकमा क्रिप्टोकसेन्सीबारे पोष्ट गरेको पाइयो । त्यसपछि कसले र कसरी पोष्ट भयो भनेर सोधपुछका लागि बोलाएका थियौं,’ उनले भने। अनुसन्धान जारी रहेकाले फेरि हाजिर हुनेगरी अहिलेलाई जिम्मा जमानीमा छाडिएको हो ।

क्रिप्टोकरेन्सी कारोबार नेपालमा प्रतिबन्धित छ । फागुन ३० गते नेपाल दूरसञ्चार प्राधिकरणले क्रिप्टोकरेन्सी कारोबार हुने सबै मोबाइल एप बन्द गर्न निर्देशन दिएको थियो ।

नेपालमा अहिले क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाप्टर नेटवर्किङ, अनलाइन जुवा तथा तास गैरकानूनी छ । यस्ता क्रियाकलापले गर्दा आर्थिक अपराध बढेको भन्दै सूचना तथा प्रविधि मन्त्रालय र अर्थ मन्त्रालयले बन्द गराउन प्राधिकरणलाईं निर्देशन दिएको थियो । सोही आधारमा प्राधिकरणले बन्द गराएको थियो ।