७ बैशाख २०८१, शुक्रबार

हास्य कलाकार भइसके ओली: नेता महत

Prakash Saran Mahat

नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले नेकपा एमालेका अध्यक्ष के.पी. शर्मा ओली हास्य कलाकार भइसकेको बताएका छन् । सल्यान जिल्लाको छत्रेश्वरी गाउँपालिकाको शंखमूलमा निर्मित शंखपार्कको आज समुद्घाटन गर्दै उनले नेकपा एमालेका अध्यक्ष ओलीमा काम गर्ने हैन, ठट्टा गर्ने बानी रहेको बताए ।

उनले भने, “राजनीति गर्ने मान्छेहरू देशको समृद्धि र जनताको सुख तथा सुविधालाई केन्द्रमा राख्ने हुनाले सधैँ गम्भीर हुन्छन् । तर उहाँले हास्य कलाकारको जस्तो हँसिमजाक बनाउनुभयो । शासन सत्ता सञ्चालन गर्न तपाईं र तपाईंको पार्टी असफल भयो । ५ वर्षलाई दिएको जनादेश साढे ३ वर्ष पनि टिकाउन सक्नु भएन ।”

महतले अघिल्लो चुनावमा निकै आकर्षक नारा दिएर जनतालाई झुक्याएर जिते पनि कम्युनिष्ट सरकारले जनताको हितमा काम गर्न नसकेको बताए । उनले नेपाली काँग्रेस फोस्रा आश्वासन दिन नजान्ने र जे गर्न सकिन्छ, त्यही भन्ने पार्टी भएको उनको भनाई थियो ।