१५ चैत्र २०८०, बिहीबार

उलटफेर हुने भविष्यवाणी मिलेन ओलीको, असार १७ मा भएन उलटफेर

kp oli
फाइल फोटो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन अघि असार १७ गते राजनीतिक उलटफेर हुने भविष्यवाणी गर्नुभएको थियो ।

उहाँको सरकार नै फेरिनेसम्मको भविष्यवाणीमा टिकाटिप्पणी नै भयो । असार १७ गते आइपुग्दा न देउवा सरकार ढल्यो, न ढल्ने संकेत नै देखिन्छ ।

यो एमाले अध्यक्ष केपी शर्मा ओलीले असार १७ गते सत्तारुढ गठबन्धन टुक्रिने र सरकार नै फेरिने भविष्यवाणी गरेको क्यामेरामा रेकर्डेड दृश्य हो । पत्रकार विजयकुमार पाण्डेले लिएको यो अन्तर्वार्ता वैशाख २० गतेतिरको हो । तर, यसको प्रसारण वैशाख २६ गते भएको थियो ।

पत्रकार विजयकुमारसँग भविष्यवाणी गरेका ओलीले वैशाख २२ गते विराटनगरमा पनि यस्तै असार १७ गते उलटफेर हुने भविष्यवाणी गर्नुभएको थियो ।

स्थानीय चुनावको पूर्वसन्ध्यामा ओलीले भविष्यवाणी मात्र गर्नुभएन, प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो ज्योतिषीसँग परामर्श गर्न पनि सुझाव दिनुभयो ।

ओलीले अन्तर्वार्तामा मात्रै होइन, पार्टीका सार्वजनिक कार्यक्रममा समेत असार १७ गतेका लागि आफूले गरेको भविष्यवाणीबारे चर्चा गर्नुभएको थियो ।

ज्योतिषीको हवला दिँदै गर्नुभएको भविष्यवाणीले एमालेका कार्यकर्ता उत्साहित देखिन्थे भने विरोधीहरूले उडाएर सामाजिक सञ्जाल रंग्याउन व्यस्त भए । उहाँले भविष्यवाणी गरेजस्तो असार १७ सम्म आइपुग्दा सत्तारुढ गठबन्धन भत्किएको छैन नत कुनै राजनीतिक उलटफेरकै संकेत देखिएको छ ।

हो, सत्तारुढ गठबन्धनका घटक जनता समाजवादी पार्टीमा विवाद देखिएको छ । अन्य सत्ता घटकमा सामान्य विवाद मात्र देखिन्छ । माओवादी केन्द्र र एकीकृत समाजवादीले वाम एकताको कुरा गरेपनि खासै ठोस रुप लिएको छैन । त्यसैले ओली भविष्यवाणि हावादारीमात्र भएको बुझ्न कुनै कठिन छैन ।