७ बैशाख २०८१, शुक्रबार

लभ स्टोरी चलचित्रमा अनमोलले साइन गरे, पहिलो पटक जोडीमा पूजा शर्मा !

anmol

नेपाली चलचित्र क्षेत्रकी सर्वाधिक चर्चित नायिका पूजा शर्माले आफ्नै प्रोडक्शनमा पहिलो पटक चलचित्र निर्माण गर्ने भएकी छिन् । पूजाले सोलो रुपमा निर्माण गर्ने चलचित्रमा निर्देशक सुदर्शन थापाको निर्देशन रहनेछ । चलचित्रमा सुदर्शनकै कथा रहनेछ ।

यो चलचित्रमा पूजाको जोडीको रुपमा भने पछिल्लो पुस्ताका सर्वाधिक चर्चित नायक अनमोल केसी अनुवन्धित भएका छन् । अनमोल र पूजाविच आज काठमाडौंमा संझौता भएको विशेष श्रोतले जानकारी दिएको छ ।

लभ स्टोरी चलचित्रमा सर्वाधिक सफल मानिएका नेपालका महंगा नायक अनमोल केसी र नायिका पूजा शर्माविच आज काठमाडौंको एक पाँच तारे होटलमा संझौता भएको श्रोतले जानकारी दिएको छ ।

वुझिए अनुसार, चलचित्रको कथा पढेपछि अनमोल पूजाको प्रोडक्शनमा बन्ने चलचित्रमा काम गर्न तयार भएका हुन् । पूजा लभ स्टोरी चलचित्रकी सर्वाधिक सफल नायिका हुन् ।

अनमोल पनि लभ स्टोरी जनराका चलचित्रमा सबैभन्दा बढी रुचाइएका नायक हुन् । यस्तै, निर्देशक सुदर्शन थापाले लभ स्टोरी जनराका चलचित्रमा आफूलाई नम्बर १ निर्देशकको रुपमा स्थापित गराइसकेका छन् । यी तिनै जना चलचित्रकर्मीको केमेष्ट्री दर्शकका लागि विशेष उपहार हुने पक्का छ ।

चलचित्र ‘ए मेरो हजुर ४’को सफलतापछि मौन बसिरहेका नायक अनमोल केसीले पूजा र सुदर्शनको टिममा प्रवेश गरेर धेरैलाई सरप्राइज दिएका छन् ।

यस्तै, यसअघि आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, आकाश श्रेष्ठ जस्ता चलकेटी नायकसँग काम गरिसकेकी नायिका पूजा शर्माले पहिलो पटक अनमोल केसीलाई आफ्नो चलचित्रमा भित्राएकी छिन् ।

सुदर्शनको निर्देशनमा अनमोलले पहिलेदेखि नै काम गर्ने रुची राखेका थिए । तर, ‘प्रेमगीत’बाट गएको अफर उनले स्विकार गरेका थिएनन् ।

यसैले, सुदर्शन, अनमोल र पूजाको टिम जुट्नका लागि केही बर्ष लागेको छ । तर, पूजाले आफ्नो ड्रिम प्रोजेक्ट बताउँदै आएको यो चलचित्रले बक्स अफिसमा धमाका मच्चाउने अनुमान गर्न सकिन्छ ।

सुदर्शनले पूजासँग ‘मधुमास, प्रेमगीत, म यस्तो गीत गाउँछु, म यस्तो गीत गाउँछु २, रामकहानी’ लगायतका लभ स्टोरी चलचित्रमा काम गरेका छन् । यी सबै चलचित्रले बक्स अफिसमा धमाका मच्चाएका थिए ।

यस्तै, ‘होस्टेल’बाट नेपाली चलचित्र क्षेत्रमा उदाएका नायक अनमोल केसीको ‘जेरी, ड्रिम्स, गाजलु, ए मेरो हजुर ३, ए मेरो हजुर ४’ जस्ता लभ स्टोरी कथा बोकेका चलचित्र बक्स अफिसमा सर्वाधिक हिट मानिन्छन् । पूजा, अनमोल र सुदर्शनको त्रिकोणात्मक केमेष्ट्रीले बक्स अफिसका थुप्रै रेकर्डहरु तोडिने विश्वास लिन सकिन्छ ।