१४ बैशाख २०८१, शुक्रबार

दैनिक उपभोग्य तरकारी र फलफूलमा हानिकारक विषादीको मात्रा भेटियो: नियन्त्रण विभाग

tarkari 69
फाइल फोटो

दैनिक उपभोग्य तरकारी र फलफूलमा पनि हानिकारक विषादीको प्रयोग भएको पाइएको छ ।

खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभाग र केन्द्रीय कृषि प्रयोगशालाले देशका विभिन्न भागमा गरेको परीक्षणमा मानव स्वास्थ्यका लागि हानिकारक विषादीको मात्रा भेटिएको जनाएका छन् ।

केन्द्रीय कृषि प्रयोगशालाले कालीमाटी, बुटवल, अत्तरिय, नेपालगञ्ज, झापा र सर्लाही कार्यालयमार्फत स्थानीय बजारको तरकारी र फलफूलमा विषादी परीक्षण गरेको थियो ।

खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागले भने अन्य मुलुकबाट आयात हुने तरकारी तथा फलफूलमा भैरहवा, नेपालगञ्ज, विराटनगर, तौलिहवा, सर्लाही र धनुषा लगायतका ७ वटा नाकामा विषादी परीक्षण गरेको थियो ।

दुवै निकायले कार्बामेट र अर्गाकोफेस्फेट समूहको मात्रै विषादी परीक्षण गर्छन् । त्यसबाहेकका समूहको विषादी परीक्षण नहुने भएकाले त्यस्ता विषादी प्रयोग भए पनि थाहा हुँदैन ।

केन्द्रीय कृषि प्रयोगशालाले फलफूल तथा तरकारीमा गरेको २२ हजार ७७५ नमुना परीक्षणमा २०३ वटा नमुनामा विषादीको मात्रा भेटिएको कालीमाटी प्रयोगशालाका विवेक सुनारले जानकारी दिए ।

जसमध्ये १४१ वटा नतिजा केही समय राखेर खान मिल्ने अवस्थाको थियो भने ६२ वटा नमुनामा विषादीको मात्रा अत्यधिक पाइएको थियो ।

केन्द्रकाअनुसार विषादी रुकावट प्रतिशत ३५ भन्दा तल भए ती वस्तु उपभोग्य मानिन्छन् । यस्तै ३५ देखि ४५ भए ती वस्तु केही समय पर्खेर उपभोग गर्नु पर्छ भने विषादीको मात्रा ४५ भन्दा बढी भए त्यसलाई नष्ट गर्नुपर्ने मानिन्छ ।

अफ सिजनको काउली र बन्दामा मापदण्डभन्दा बढी मात्रामा विषादी पाइएकोले त्यो लटको नै नष्ट गरिएको केन्द्रले बताएको छ ।

नेपाली बजारमा भारत लगायतका मुलुकबाट आयात हुने आँपमा स्वास्थ्यलाई हानिकारक आर्सनिक हेभीमेटल राख्ने गरेको पाइएको छ ।

खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागले नेपालमा आँप आयात हुने प्रमुख ७ नाकामा गरेको विषादी परीक्षणमा विषादीको मात्रा पाइएको हो ।

विभागकी महानिर्देशक मतिना जोशी वैद्यकाअनुसार आँपमा यस्तो विषादीको अवशेष ०।७५ पीपीएम एमजी प्रतिकिलो पाइएको छ ।

विभागले असार एक गतेदेखि थालेको देशभरको प्रमुख नाकाको अनुगमन क्रममा यस्तो पाइएको महानिर्देशक वैद्यले बताइन् । भैरहवा, नेपालगञ्ज, विराटनगर, तौलिहवा, सर्लाही, धनुषा लगायतका नाका र नजिककौ सबैभन्दा धेरै आँप पाइने प्रमुख बजारहरुमा सघन अनुगमन गरिएको थियो ।

बजारमा हानिकरक कार्बाइड प्रयोग गरिएको भन्ने हल्ला सुनिए पनि विभागको अनुगमनका क्रममा यस्तो भने नभेटिएको विभागले जनाएको छ । बजारमा फलफूल पकाउन रसायन प्रयोग गर्ने गरेको भने अनुसन्धानमा देखिएको महानिर्देशक वैद्यको भनाइ छ ।