१६ चैत्र २०८०, शुक्रबार

महिलामाथि अपराध हुन नदिने गरी आवश्यक प्रविधिको व्यवस्था गर्न माग

International Womens Day

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेकी सांसद विन्दा पाण्डेले महिलामाथि हुने जघन्य अपराधका घटना हुनै नदिने गरी आवश्यक विधि र प्रविधिको व्यवस्था गर्न सरकारसँग माग गर्नु भएको छ ।

प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा सांसद पाण्डेले महिला हिंसा नियन्त्रणका लागि भएका विधि र प्रविधिलाई सुदृढ गरेर लैजान पनि सरकारलाई सचेत गराउनु भयो ।

सांसद पाण्डेले महिला हिंसाका घटनाका पीडितलाई न्याय दिने गरी सबै स्थानीय तहमा सुनुवाई समितिको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराउनु भयो ।

बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द्रप्रसाद शर्मा कोइरालाले तत्कालको घटनाबाट प्रभावित भएर कानुनमा प्रभाव पार्ने प्रयास नगर्न सांसदहरुलाई आग्रह गर्नुभयो ।

मन्त्री कोइरालाले महिला हिंसाका घटनाका पीडितलाई पीडकबाट असुल गरिएको जरिवाना सोझै उपलब्ध गराउने कानुनी व्यवस्था गर्न सकिने बताउनु भयो ।