१६ बैशाख २०८१, आईतवार

पानीको बहाव बढ्न थालेपछि सप्तकोशी ब्यारेजका १६ ढोका खोलिए

SaptaKoshi River

सप्तकोशी नदीमा पानीको बहाव बढ्न थालेको छ ।

नदीको बहाव बढ्न थालेपछि तटीय क्षेत्रमा सतर्कता बढाइएको छ । सुनसरी प्रशासनले नदीमा डुङ्गा चलाउन पूर्ण रुपमा रोक लगाएको छ भने सम्भावित जोखिमलाई मध्यनजर गर्दै माछा मार्ने तथा बाढीले बगाएर ल्याएका दाउरा नदीबाट झिक्नसमेत प्रतिबन्ध लगाएको छ ।

नदीको जलस्तर बढ्दो क्रममा रहेसँगै प्रशासनले कोशीको बाँध तथा स्पर र नोज अनुगमनको कार्यलाई समेत निरन्तरता दिएको छ । साथै सम्भावित विपद् आइपरे खोज तथा उद्धारका लागि सुरक्षाकर्मीको टोली तयारी अवस्थामा राखिएको छ ।

नदीको बहाव बढ्दो क्रममा देखिएपनि अहिलेसम्म कहीँ कतै खतरा भने नरहेको प्रशासनले जनाएको छ । कोशी ब्यारेज नियन्त्रण कक्षका अनुसार सोमबारसम्म सामान्य अवस्थामा रहेको नदीको बहाव पछिल्लो २४ घण्टा यता भने बढ्दो क्रममा छ । पूर्वी भेगमा जारी अविरल वर्षासँगै कोशी नदीको जलस्तर बढ्दो क्रममा देखिएको ब्यारेज नियन्त्रण कक्षले जनाएको छ ।

पछिल्लो मापन अनुसार सप्तकोशी नदीमा पानीको बहाव १ लाख २६ हजार ५ सय ५ क्यूसेक प्रतिसेकेण्ड रहेको छ । ब्यारेजका १६ ढोका खोलिएका छन् ।

नदीको बहाव बढ्दो क्रममा रहेपनि सबै तटबन्ध तथा स्परहरु सुरक्षित रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो ।