१४ बैशाख २०८१, शुक्रबार

कुन सांसदले के भने प्रतिनिधिसभाको शून्य समयमा ?

house

प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसदले समसामयिक विषयमा धारणा राख्नुभएको छ। अमृता थापाले उपसभामुख र राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचन गरी सङ्घीय संसदलाई पूर्णता दिन माग गर्नुभएको छ।

आइतबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै प्रतिनिधिसभा सदस्य थापाले उपसभामुख र राष्ट्रिय सभाको उपाध्यक्षको पद लामो समयदेखि खाली भएको उल्लेख गर्दै तत्काल निर्वाचन गरेर सङ्घीय संसदलाई पूर्णता दिन माग गर्नुभएको हो।

उहाँले यसपालिको स्थानीय तहको निर्वाचनमा १२४ जना दलित महिला सदस्य खाली भएको भन्दै कानुन संशोधन गरेर भए पनि खाली ठाउँमा जनप्रतिनिधिको सङ्ख्यालाई पूर्णता दिने व्यवस्था गर्न पनि माग गर्नुभयो।

प्रतिनिधिसभा सदस्य आशाकुमारी बिकले गत कार्तिक ३० गते बझाङमा आएको वर्षाले ११ सय घर परिवार विस्थापित भएको भन्दै पूर्ण क्षति भएका घर अझै बन्न नसकेकोप्रति सरकारको जवाफ माग गर्नुभयो।

उहाँले विपद् व्यवस्थापनमा सरकारको तयारी के छ त्यसको पनि जवाफ माग गर्नुभयो। प्रतिनिधि सभा सदस्य इन्दुकुमारी शर्माले नागरिकता विधेयक पास नहुँदा कतिपय नागरिकले देशभित्रै अनागरिकसरह कष्टकर जीवन बाँच्नुपरेको बताउनुभयो।

उहाँले संसदको चालु अधिवेशनमै नागरिकता विधेयक पारित गर्न माग गर्नुभयो। प्रतिनिधिसभा सदस्य कलिला खातुनले काठमाडौंमा हैजा फैलिएको समाचार आएको उल्लेख गर्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो।

प्रतिनिधिसभा सदस्य कृष्णगोपाल श्रेष्ठले गत जेठ १४ गते बजेट तयारीमा अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिको हस्तक्षेप भएको भन्दै उहाँले अर्थ मन्त्रालयको सो दिनको फुटेज सार्वजनिक गर्न माग गर्नुभयो।

प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोखरेलले विपद् व्यवस्थापनका लागि पूर्व तयारी, उद्धार, राहत र पुनस्र्थापनाका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो। उहाँले सांसदलाई पनि विपद् अनुगमनका काममा प्रत्यक्ष सहभागी हुन आग्रह गर्नुभयो। उहाँले नारायणगढ-मुग्लिन सडकखण्डमा दैनिक रुपमा हुने पहिरोको समस्यालाई दीर्घकालीन रुपमा समाधान गर्न सरकारसँग माग गर्नुभयो।

प्रतिनिधि सभा सदस्य खगराज अधिकारीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा विरुद्धको महाअभियोग प्रस्ताव संसदीय समितिमा लगेर छानबिन र सुनुवाइ हुनुपर्ने बताउनुभयो।

प्रतिनिधि सभा सदस्य गणेश सिंह ठगुन्नाले बजारमा महँगी बढेकाले बजारमा हुने कालोबजारी र महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो।

प्रतिनिधि सभा सदस्य गङ्गा चौधरीले बलात्कारमा संलग्न राजनीतिक पहुँचवाला व्यक्ति जोडिएको मुद्दा कमजोर बनाउन महान्यायाधिवक्ता र उनको सचिवालय सक्रिय भएको आरोप लगाउनुभयो।

सङ्गीता थोकरलाई सरुवा गरिएको उल्लेख गर्दै उहाँले सरुवा बदर गर्न माग गर्नुभयो। उहाँले महान्यायाधिवक्ता बलात्कारको अभियुक्तलाई जोगाउन लागेको भन्दै महान्यायाधिवक्ताको राजीनामा माग गर्नुभयो।

प्रतिनिधिसभा सदस्य घनश्याम खतिवडाले बजेट बनाउने क्रममा अर्थमन्त्रीले अनाधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराएकाले अर्थमन्त्रीले अविलम्ब राजीनामा गर्नुपर्ने माग गर्नुभयो।

उहाँले सरकारले सुशासनको प्रत्याभूति हुनेगरी काम गर्न नसकेको भन्दै सुशासन प्रत्याभूति हुनेगरी काम हुनुपर्ने धारणा राख्नुभयो।