२२ बैशाख २०८१, शनिबार

उत्कर्षमा समाजवादीभित्रको विवाद, चारमन्त्रीसहित दश सांसदले गरे विद्रोह

CPN Uinted Socialist
फाइल फोटो

मन्त्री हेरफेरको निर्णयले नेकपा एकीकृत समाजवादीमा विवाद देखिएको छ । चारमन्त्रीसहित १० सांसदले अध्यक्ष माधवकुमार नेपाललाई पत्र लेख्दै असन्तुष्टि जनाएका छन् ।

उनीहरुले अध्यक्ष नेपाललाई ध्यानाकर्षण पत्र पठाउँदै मन्त्रिपरिषद् पुनर्गठन गर्ने कुरा स्वाभाविक मान्न नसकिने बताएका छन् । पार्टीबाट मन्त्री भएकाहरुलाई पटक–पटक अपराधीलाई जस्तो व्यवहार गरिएको भन्दै पत्रमार्फत् असन्तुष्टि पनि जनाएका छन् ।

आठ बुँदे ध्यानाकर्षण पत्रमा मन्त्रीहरु विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आले, कृष्णकुमार श्रेष्ठको हस्ताक्षर छ । त्यस्तै सांसदहरू कृष्णलाल महर्जन, गोपालबहादुर बम, विनादेवी बुढाथोकी, पुष्पाकुमारी कर्ण कायस्थ, धनबहादुर बुढा र निरा जैरुले पनि हस्ताक्षर गर्नुभएको छ ।

अध्यक्ष नेपालले यसअघि नै अहिलेका मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँलाई मन्त्री बनाउने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई नाम सिफारिस गरेर पठाउनुभएको थियो । तर बजेट अधिवेशन चलिरहेको र मन्त्रीहरुले जवाफ दिनुपर्ने भन्दै तत्कालका लागि मन्त्री हेरफेरको गृहकार्य स्थगित गरिएको थियो ।

बजेट पारित भइसकेपछि फेरि पनि अध्यक्ष नेपालले मन्त्री हेरफेर गर्नुपर्ने बताएपछि एकीकृत समाजवादीबाट मन्त्री बनेकाहरु रुष्ट छन् ।

उनीहरुले बुझाएको ध्यानाकर्षण पत्रमा बजेट पास भएपछि गठबन्धनमा रहेका दलहरुसँग सल्लाह गरेर पार्टीको निर्णय कार्यान्वयन गर्ने भनेर दिएको निष्कर्ष विपरीत पटक–पटक आजै र भोलि मन्त्रीहरुलाई शपथ गराउन प्रधानमन्त्रीलाई दिएको दबाब किमार्थ राम्रो मान्न नसकिने उल्लेख छ ।

उनीहरुले आफ्नो मागमा छलफलका लागि तत्काल संसदीय दलको बैठक बोलाउन माग समेत गरेका छन।