२४ बैशाख २०८१, सोमबार

अहिलेसम्म प्रस्ट हुन नसकेको ‘माओवादी जनयुद्ध’ कसका विरुद्ध र के उद्देश्यका लागि थियो: अध्यक्ष ओली

60f964c6c092c kp sharma oli 1
फाइल फोटो

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘माओवादी जनयुद्ध’प्रति लक्षित गर्दै त्यो कसका विरुद्ध र के उद्देश्यका लागि भएको थियो भन्ने अहिलेसम्म प्रस्ट हुन नसकेको टिप्पणी गरेका छन् ।

मंगलबार पूर्वराजदूतहरूसँगको अन्तरक्रिया कार्यक्रममा ओलीले संविधानले कानुनी र शान्तिपूर्ण रुपमा अघि बढ्न ठाउँ दिएको अवस्थामा राजनीतिक अधिकारका नाममा हिंसात्मक गतिविधिको औचित्य नहुने बताए ।

राणा शासनविरुद्धको संघर्षमा राज्यले नै राजनीतिक अधिकार निषेध गरेका कारण त्यतिबेला हिंसात्मक अभियानलाई जायज ठहर्याउन सकिने तर त्यसपछिका अवस्थामा भने राजनीतिक अधिकारका लागि हिंसा गरिरहन पर्ने अवस्था नरहेको उनको भनाइ थियो । ओलीले नेपाल कुनै पनि छिमेकी राष्ट्रविरुद्ध प्रयोग हुन नहुने समेत बताएका छन् ।

अध्यक्ष ओलीले छिमेकी देशहरूसँगको सम्बन्ध भरपर्दो र विश्वसनीय हुनुपर्नेमा जोड दिए । ‘हामी हाम्रा छिमेकीहरूसँग भरपर्दो र विश्वसनीय नीति र व्यवहारका साथ प्रस्तुत हुनुपर्छ । बाहिर भन्ने एउटा र भित्र गर्ने अर्को हुने खालको द्वैध चरित्र देखाउन हुँदैन । अन्तर्राष्ट्रिय सम्बन्धको सवालमा हामीले कुनै कार्ड खेल्नुपर्दैन । कुनै छिमेकीका विरुद्ध अरु कसैसँग भित्रभित्र साँठगाँठ गर्ने अनि बाहिर अर्कै कुरा गर्ने काम राम्रो होइन’, ओलीले भने ।

अन्तर्राष्ट्रिय सम्बन्धका सन्दर्भमा नेपालले कुनै हीनताबोध राख्न नहुने भन्दै आपसमा कुनै समस्या भए संवादबाट समाधान गर्नुपर्ने बताए । ‘जनसंख्यामा देश सानो ठूलो हुनसक्छ । विकासको स्तरमा अघि वा पछि हुनसक्छ तर सार्वभौमसत्ता सबैको समान हो । त्यसैले हीनताबोध राखेर मित्रता हुनसक्दैन, न्यायोचित राष्ट्रिय हितको पक्षमा उभिनुपर्छ’, ओलीले भने ।

वर्तमान सरकारले अन्तर्राष्ट्रिय सम्बन्धलाई सुमधुर राख्न नसकेको भन्दै ओलीले प्रतिपक्षसँग कुनैपनि विषयमा सरकारले संवाद नगरेको आरोप लगाए । विगतमा अन्तर्राष्ट्रिय सम्बन्ध र प्रधानमन्त्रीको विदेश भ्रमणका सन्दर्भमा प्रतिपक्ष र विज्ञहरूसँग सल्लाह हुने प्रचलन रहेपनि अहिले तोडिएको ओलीको आरोप छ । ओलीले २०४६ सालको राजनीतिक आन्दोलनयता पहिलो पटक देशमा गहिरो संवादहीनताको अवस्था रहेको बताएका छन् ।

उनले यसअघि प्रधानमन्त्री विदेश जानुअघि प्रतिपक्षीसँग परामर्श हुने गरेकोमा अहिले त्यो पनि बन्द भएको गुनासो गरे । ‘प्रतिपक्षी एउटा वैकल्पिक सरकार हो। सरकारमा जान तयार शक्ति हो भनेर विदेश जानुअघि परामर्श गरिनुपर्थ्यो, विज्ञहरुसँग पनि छलफल हुनुपर्थ्यो’, उनले भने, ‘पहिले त विज्ञसँग पनि परामर्श हुन्थ्यो । अहिले त्यो पनि हुन छाडेको छ।’

ओलीले प्रधानमन्त्री देउवातिर लक्षित गर्दै प्रतिपक्षीसँग संवाद नगरी अघि बढिरहेको आरोप लगाए । ‘प्रतिपक्षीसँग वार्ता नगरी चलाउने भए चलाउनु’, ओलीले देउवातिर लक्षित गर्दै भने, ‘सरकार डेमोक्रेसीको रुलअनुसार चल्नुपर्छ। हामीले प्रतिनिधिसभामा बोल्दा पनि यही भनेका थियौँ।’

उनले छिमेकीहरूसँग भरपर्दो र विश्वसनीय नीति र व्यवहारसहित प्रस्तुत हुनुपर्नेमा पनि जोड दिएका छन्। माओवादी जनयुद्धको नाम नलिइकन उनले जनयुद्धतर्फ नै लक्षित गर्दै भने, ‘तर देश हिंसामा गयो, कसका विरुद्ध, के प्राप्तिका लागि भन्ने अहिलेसम्म टुंगो लागेको छैन । गणतन्त्रका लागि थियो भने गणतन्त्र नआइकन त्यो टुंगियो, गणतन्त्र दिन्छु भनेर कसैले प्रतिवद्धता जनाएको पनि थिएन ।’