६ बैशाख २०८१, बिहीबार

महाभियोग प्रस्ताव अगाडि नबढ्नुको कारण माग

lalbabu panddit

नेकपा (एमाले)का सांसद लालबाबु पण्डितले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाभियोग प्रस्ताव अगाडि नबढ्नुको कारण दिनुपर्ने बताउनुभएको छ ।

साेमबारको प्रतिनिधिसभा बैठकमा सांसद पण्डितले महाभियोग कहिले अगाडि बढ्छ भनेर सभामुख अग्निप्रासद सापकोटालाई प्रश्न गर्नुभएको छ ।

‘‘महाभियोग दर्ता भएको छ । छानबिन समिति गठन भएको छ तर समितिले कहिले काम पाउने हो ?,’’ उहाँले प्रश्न गर्नुभयो, ‘‘महाभियोग प्रमुख प्रतिपक्षसँग सल्लाह नगरी ल्याएको र पास हुन सक्दैन भनेर महाभियोग प्रस्तावका प्रस्तावकहरु नै हराइसक्नुभएको हो कि ?, उहाँहरु यो प्रस्तावमाथि छानबिन गर्न निम्ति तयार हुनुहुन्न, के भएको हो ?’’

गतवर्षको फागुन १ गते नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीका सांसदले प्रधानन्यायाधीश जबरामाथि महाभियोग प्रस्ताव दर्ता गराएका थिए ।

महाभियोग प्रस्ताव दर्तापछि महाभियोग सिफारिस समिति गठन भएको थियो तर अगाडि बढ्न सकेको छैन ।

‘‘यसमा सम्माननीय सभामुखको जिम्मेवारी र दायित्व हुन्छ कि हुँदैन ? हुन्छ भने सभामुखले कहिलेबाट हामीलाई विषयवस्तु पठाउनुहुन्छ ? कहिले हामीले काम गर्न पाउने ? देश र जनताले उठेका प्रश्नको जवाफ पाउने ? त्यसबारेमा समिति सदस्यको रूपमा म सभामुखको विचार जानकारी चाहन्छु । म आफू त्यो समितिको सदस्यको भएकोले गर्दा जानकारी चाहन्छु ।,’’ उहाँले भन्नुभयो ।