२१ बैशाख २०८१, शुक्रबार

जनावरको आक्रमणमा ३९६ जनाको ज्यान गयो

Tiger attack
फाइल फोटो

वि.सं. २०७७ चैत २२ गते बर्दिया राष्ट्रिय निकुञ्जका माहुत पुलिसराम थारुमाथि आक्रमण गर्ने बाघ नियन्त्रणमा लिइएको छ । उक्त बाघले उहाँलाई आक्रमण गर्नु अघि अरु दुई जनालाई आक्रमण गरेको थियो । त्यो बाघ अहिले सदर चिडियाखाना जाउलाखेलमा छ ।

बच्चासँगै भएको पोथी बाघ, पोथी र भालेबीच संसर्गको अवस्था, बूढो र शिकार गर्न अशक्त तथा आफ्नो क्षेत्र बनाउने क्रममा भाले–भाले बाघबीच लडाइँ हुँदा कमजोर भएको बाघ आक्रामक हुने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी दिलबहादुर पुर्जा पुनले बताउनुभयो । उहाँका अनुसार मानसिक रुपमा समस्यामा भएको बाघले पनि मानिसलाई आक्रमण गर्छ ।

दुई पटकभन्दा बढी मानिसलाई आक्रमण गर्ने बाघलाई समस्याग्रस्त बाघका रुपमा लिएर निगरानी शुरु गर्ने गरिन्छ । दोस्रो पटक पनि आक्रमण गरेपछि त्यसलाई नियन्त्रणमा लिने काम हुन्छ । अहिले संरक्षण क्षेत्रको विकास भएको छ । त्योसँगै वन्यजन्तुको संख्या पनि बढेकाे छ । सन् २०१८ देखि गरिएको गणना हेर्दा बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको संख्या ८७ थियो । त्योभन्दा पहिले सन् २०१४ को गणनामा बाघको संख्या ५० थियो ।

करिब चार वर्षको अवधिमा संरक्षणकर्मीलाई उत्साहित बनाउने गरी बाघको संख्या बढेका छ । तर, बाघको आक्रमण पनि बढेपछि संरक्षणकर्मीलाई चिन्तित बनायो । यसकारण अहिले बाघको संख्या वृद्धिलाई मात्र प्राथमिकता दिन नहुने आवाज उठ्न थालेको सूचना अधिकारी पुनको भनाइ छ ।

सन् २०१० मा रुसको सेन्ट पिट्सवर्गमा भएको विश्व बाघ सम्मेलनमा नेपालले सन् २०२२ सम्म बाघको संख्या दोब्बर बनाउने प्रतिबद्धता जनाएको थियो । त्यति बेला नेपालमा १२१ वटा बाघ थिए । सन् २०१८ को गणनाअनुसार नेपालमा २३५ बाघ रहेका छन् । २०७० सालमा चितवनको पाँच पाण्डव नदीको छेउमा आफ्नै खेतमा घाँस काट्न गएको अवस्थामा ४५ वर्षीय शम्शेरबहादुर क्षेत्रीलाई जंगली भालुले घाइते बनायो । डोटीको बगलेक–६ स्थित जंगलमा घाँस काट्न गएका रामबहादुर साउँदलाई पनि भालुले आक्रमण गरी गम्भीर घाइते बनाएको थियो ।

यस्तै, काभ्रेपलाञ्चोकको मेथिनकोट–५ बस्ने केशवप्रशाद भुर्तेलको घरमा बाघ प्रवेश गरी उहाँको दुई वर्षीय छोरा मोहन भुर्तेललाई आक्रमण गर्दा मृत्यु भएको थियो । चितवनको गीतानगर–४ देवनगर बस्ने ७५ वर्षीय हनुमन्ते सार्कीलाई घरमा सुतीरहेको अवस्थामा बाघले आक्रमण गर्दा मृत अवस्थामा फेला पर्नुभएको थियो । यो त प्रतिनिधि पात्र घटना मात्रै हो । २०७० साल यता जंगली जनावरको आक्रमणमा परी ३९६ जनाको मृत्यु भएको छ, भने एक हजार ८० जना घाइते भएका नेपाल प्रहरीको तथ्यांक छ ।

तथ्यांकअनुसार सबैभन्दा बढी चितवनमा बाघलगायत जनावरको आक्रमणबाट मानिसको मृत्यु भएको देखिन्छ । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका मध्यवर्ती क्षेत्रमा एक वर्षको अवधिमा घाँस दाउरा गर्न तथा वस्तु चराउन गएका २२ जनाको जङ्गली जनावरको आक्रमणबाट मृत्यु भएको छ । चालू आर्थिक वर्षमा निकुञ्ज सुरक्षामा खटिँदा, घाँस दाउरा गर्न जाँदा, पूजा गर्न जाँदा जंगली जनावरको आक्रमणमा परी उहाँहरुको मृत्यु भएको हो । चितवनमा चालू आर्थिक वर्षमा सबैभन्दा बढी बाघको आक्रमणबाट मानवीय क्षति भएको छ ।

बाघको आक्रमणबाट १३, गैँडाको आक्रमणबाट छ र जङ्गली हात्तीको आक्रमणबाट तीन जनाको मृत्यु भएको छ । गत आर्थिक वर्षमा जंगली जनावरको आक्रमणमा १२ जनाको मृत्यु भएको थियो । ती मध्ये गैँडाको आक्रमणमा चार, बाघको आक्रमणमा चार, जंगली हात्तीको आक्रमणमा दुई, गौरी गाईको आक्रमणमा एक र बँदेलको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ ।