५ जेष्ठ २०८१, शनिबार

सीसीटिभी फुटेज माग्यो अर्थ मन्त्रालयकाे १४ जेठ मध्यरातिको एमालेले, माग पूरा नभएसम्म सदन चल्न नसक्ने चेतावनी

Bishal Bhattarai

प्रमुख प्रतिपक्षी दल एमालेले बजेट सार्वजनिकको अघिल्लो दिन १४ जेठ मध्यरातिको अर्थ मन्त्रालयको सीसीटिभी फुटेज उपलब्ध गराउन माग गरेका छन् । 

उक्त दिन मध्यराति अर्थमन्त्री जनार्दन शर्माले दुई जना अनाधिकृत व्यक्तिलाई मन्त्रालयमा छिराएर करको दर परिवर्तन गराएको समाचार आएपछि एमालेले उक्त दिनको सीसीटिभी फुटेज मागेको हो । 

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा मन्त्री शर्माले उक्त दिन कोही अनाधिकृत व्यक्ति नछिरेको दाबी गरेपछि एमालेका सांसदहरुले सीसीटिभी फुटेज सार्वजनिक गर्न माग गरेका हुन् । 

एमाले प्रमुख सचेतक विशाल भट्टराईले उक्त दिनको सीसीटिभी फुटेज सार्वजनिक गर्न र संसदीय छानबिन समिति गठन गर्न माग गरेका हुन् । उक्त माग पूरा नभएसम्म सदन चल्न नसक्ने उनले चेतावनी दिए । 

तत् पश्चात सभामुख सापकोटाले बैठक अगाडि बढाउन खोज्दा एमाले सांसदहरु उठेर विरोध जनाए । सभामुख सापकोटाले बैठक चल्न दिन आग्रह गर्दा पनि एमाले सांसद नमानेपछि कार्यसूचीबाट बाँकी रहेका कारबाही हटाएर भोलि बुधबार ११ बजे बस्नेगरी बैठक स्थगित गरे ।