३ जेष्ठ २०८१, बिहीबार

अवरोधका कारण प्रतिनिधि सभाको बैठक स्थगित

samsad 1

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण प्रतिनिधि सभाको आजको बैठक स्थगित भएको छ ।

एमालेले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणमा अनधिकृत व्यक्तिहरूको संलग्नता रहेको सम्बन्धमा छानविन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग गर्दै विरोध जनाएपछि बैठक भोलि दिउँसो ११ बजे सम्मका लागि स्थगित भएको हो ।

बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति संलग्न रहेको र कुनै निश्चित व्यापारिक समूहलाई फाइदा पुग्ने गरी करको दर हेरफेर भएको भन्ने विषय संसदमा प्रवेश गरिसकेको हुनाले सत्यतथ्य छानबिनका लागि समिति गठन हुनुपर्ने माग गर्नुभयो ।

यस अघि प्रतिनिधि सभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सार्वजनिक महत्त्वको विषयमा वक्तव्य दिन अर्थमन्त्री जनार्दन शर्मालाई समय दिनुभएको थियो ।

त्यस पछि अर्थमन्त्री जनार्दन शर्माले स्थापित मान्यता र परम्परा अनुरूप नै आर्थिक वर्ष २०७९/८० को बजेट निर्माण भएको र त्यस क्रममा अनधिकृत व्यक्तिहरूको संलग्नता भएको भन्ने समाचारमा सत्यता नभएको बताउनुभयो ।

अर्थमन्त्री शर्माले बजेट निर्माणका लागि मन्त्रालयका जिम्मेवार कर्मचारीहरूको नेतृत्वमा विभिन्न समितिहरू निर्माण भएको र सोही समितिहरूले नै बजेटको अन्तिम रूप दिएको हुनाले बजेट निर्माणमा अनधिकृत व्यक्तिहरू संलग्न रहेको भन्ने कुरा भ्रामक र कपोकल्पित रहेको बताउनुभयो ।