२६ बैशाख २०८१, बुधबार

आगमन तिब्र बाक्लियो अमेरिकी अधिकारीको नेपाल !

FU4YLY6XwAAiNwa

देउवा सरकार गठनसंगै अमेरिकी उच्च अधिकारीको नेपाल आगमन तिब्र, अमेरिकी सैनिक जनरल चाल्र्सले प्रधानमन्त्री र सहित सेनापतिसंग भेटे, विदेश नीति असन्तुलित बनेको आशंका ।

सन्तुलित र प्रभावकारी कुटनीति मुलुकको आवश्यकता हो । बदलिँदो विश्व राजनीति र भू–राजनीतिक संवेदनशीलताका कारण नेपाल विदेश नीति समान र सन्तुलित हुनुपर्ने बहस पुरानो हो । तर के यी आधारभूत मान्यतामा सरकार अडिग छ ? अमेरिकी सेनाको इन्डो प्यासिफिक कमाण्डका कमाण्डिङ जनरल चार्ल्स ए फ्लिन नेपाल भ्रमणमा छन ।

फ्लिनले शुक्रवार प्रधानमन्त्री शेर बहादुर देउवा, राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन । नेपाली सेनाले गार्ड अफ अनर सहित जंगी अड्डामा स्वागत गरे आफ्ना अप्रेसन गतिविधिबारे ब्रिफिङ सहित फ्लिन प्रधानसेनापति प्रभुराम शर्माबीच भेटवार्ता समेत गरे ।

छिमेकी मुलुक भारत हुँदै चार दिने नेपाल भ्रमणका लागि विहिवार नेपाल आएको फ्लिन आगामी आइतवार स्वदेश फर्किने कार्यतालिका छ । यस्तै एसिया र प्रशान्त क्षेत्रीय ब्यूरो, संयुक्त राष्ट्र विकास कार्यक्रमका सहायक महासचिव र निर्देशक कन्नी विग्नाराजा नेपाल भ्रमणमै छ ।

केहि समय अघि मात्र अमेरिकाको प्रजातन्त्र र मानव अधिकार उपमन्त्री तथा तिब्बती मुद्दाहरूका लागि अमेरिकी विशेष संयोजक उज्रा जियाले तीनदिने नेपाल भ्रमण सक्काएर स्वदेश फिर्ता भएकी थिइन् । यी केहि भ्रमण मात्र नियाले पनि पछिल्लो समय नेपालमा लगालग अमेरिकी उच्च अधिकारीको भ्रमण भइरहेको छ ।

कुटनीतिक क्षेत्रमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदनपछि अमेरिकी उच्च अधिकारीको भ्रमण बाक्लिएकोप्रति आ–आफ्नै तर्क छ । कुटनीति क्षेत्रका जानकारहरु यी भ्रमणलाई सामान्य रुपमा लिनुपर्ने तर्क गर्छन ।

पछिल्लो समय नेपालको कुटनीति क्षेत्र चलायमान भएको जानकारहरु बताउँछन । सन्तुलित छिमेकी नीति अघि सारेका देउवा सरकार पछिल्लो समय विदेश मामिलामा सदनमै आलोचित भइरहेका छन । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष के.पि शर्मा ओलीले वर्तमान सरकारले छिमेक सम्बन्धमा समेत पक्षधरता लिएर परराष्ट्र नीतिमा गम्भीर खेलबाड गरेको आरोप नै लगाएका थिए ।

अन्तराष्ट्रिय स्तरमा मुलुकको गरिमा र प्रतिष्ठा सुदृढ बनाउने आधार नै प्रभावकारी कुटनीति हो । सन्तुलित कुटनीति नेपालको पहिलो सर्त हो । तर पछिल्लो समय छिमेकी मुलुक चीनको मौनता र नेपाल मामिलामा अमेरिका भारत र अन्य पश्चिमा मुलुकको सक्रियताले सरकार अमेरिकातर्फ ढल्किएको भू–राजनीतिक संवेदनशीलतालाई नबुझेको विश्लेषण समेत सुरु हुन थालेको छ । यसतर्फ सरकार गम्भिर बन्न जरुरी देखिन्छ ।