११ बैशाख २०८१, मंगलवार

औसतभन्दा बढी वर्षा हुने भएकाले आवश्यक पूर्वतयारी अपनाउन मौसमविद्हरुले सुझाव

mausam weather

औसत मितिभन्दा हप्तादिन अघि नै यस वर्षको मनसुन सक्रिय भैसकेको छ । औसतभन्दा बढी वर्षा हुने भएकाले आवश्यक पूर्वतयारी अपनाउन मौसमविद्हरुले सुझाव दिएका छन् ।

सामान्यतया जुन १३ तारिखमा मनसुन सक्रिय हुने भए पनि यो वर्ष औसतभन्दा हप्तादिन अघि नै बर्खा लागेको छ । मनसुन शुरु भएलगत्तै परेको पानीका कारण ठाउँठाउँमा बाढी, पहिरो, कटान र डुबानमा जनधनको क्षति हुन शुरु भएको छ ।

बंगालको खाडी हुँदै पूर्वी नेपालबाट भित्रिएको मनसुन गण्डकी प्रदेशसम्मै पुगिसकेको छ भने विस्तारै पश्चिमतर्फ सर्दै गएको मौसमविद्हरुले जानकारी दिएका छन् । मनसुन सक्रिय भएपछि धनकुटा, ताप्लेजुङ लगायतका स्थानमा बढी मात्रामा वर्षा रेकर्ड भएको छ ।

चार महिनाको मनसुन अवधिमा औसत वर्षा १५ सय ३० मिलिमिटर हुने गरेकोमा यसपटक सरदरभन्दा बढी वर्षा हुने पूर्वानुमान गरिएको छ । विगत केही वर्षयताको मनसुनी अवस्थाको अध्ययन् गरिरहेका मौसमविद्हरुले पानी पर्ने विगतको अभ्यासभन्दा भिन्न हुँदै गएको र एकैपटक भारी वर्षा हुने र कतै सुख्खा हुने देखिएको पाएका छन्। एक दिनमा पर्ने पानी केही घण्टामा पर्दा खहरेखोलामा अकस्मात बाढी आउने तथा पहिरो जानुका साथै डुबानको समस्या हुने मौसमविद्को भनाइ छ ।

मनसुन सक्रिय भैसकेकाले पूर्वतयारी अपनाउन पनि आवश्यक रहेको मौसमविद्को जोड छ । स्थानीयस्तरमै जोखिम क्षेत्रहरु पहिचान गरी चार महिनाका लागि अस्थाई रुपमा भएपनि वस्ती स्थानान्तरण गर्न पनि मौसमविद्ले सुझाव दिएका छन् ।

मनसुन शुरु हुने सरदर समय फरक पर्दै गएको र बाहिरिने समय पनि पछि धकेलिन थालेको अध्ययनहरुले देखाएका छन् । यस्ले खेतीपाती गर्ने, विकास निर्माणका कामहरु गर्दा पनि मौसमी अवस्थाको जानकारी लिएमा क्षति न्यूनीकरण मात्रै नभएर मनसुनबाट लाभ पनि लिन सकिने विज्ञहरुको सुझाव छ। वर्षापछिका प्रकोपबाट बच्नका लागि सरोकारवाला निकायका साथै आम नागरिकले पनि आवश्यक पूर्वतयारी अपनाउनु सबैको कर्तव्य हो ।